विराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मीहरूले आफूहरूलाई लामो समयदेखि गरिँदै आएको श्रम शोषण र अनुचित व्यवहार विरुद्ध आन्दोलन सुरु गरेका छन्। सेवाप्रवाह नै अवरुद्ध हुनेगरी उनीहरूले उपचार कार्य रोक्का गर्दै अस्पताल परिसरमै धर्ना बसेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार अस्पताल प्रशासनले तोकेको न्यूनतम पारिश्रमिक नदिएको साथै अतिरिक्त कामको उचित सुविधा पनि नपाएकै कारण बाध्य भएर विरोधमा उत्रिएका हुन्। उनीहरूले “सम्मान, पेशागत सुरक्षा र पारिश्रमिक”का लागि माग गर्दै अस्पताल प्राङ्गणमै प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन्।
आन्दोलनकारीहरूले अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र सिंह कार्कीले कर्मचारीलाई ‘तँ’ भन्दै अपमानजनक व्यवहार गरेको आरोपसमेत सार्वजनिक गरेका छन्। उक्त आरोप पुष्टि गर्ने भिडियोसमेत सामाजिक सञ्जालमार्फत भाइरल बनेपछि चिकित्सकदेखि सर्वसाधारणसम्म आंदोलनप्रति सहानुभूति व्यक्त गरिरहेका छन्।
“डिग्री र प्रमाणपत्र छ, तर सम्मान छैन”
नर्स सङ्घको नेतृत्वमा भएको विरोध कार्यक्रममा सहभागी एक नर्सले भनिन् — “हामीले वर्षौं मेहनत गरेर प्राप्त गरेको शैक्षिक योग्यता र सीपलाई अस्पताल प्रशासनले कदर गरेको महसुस हुँदैन। यहाँ सेवा होइन, शोषण भइरहेको छ।”
स्वास्थ्य मन्त्रालयले निर्धारित गरेको पारिश्रमिकभन्दा निकै कम तलबमा १२–२४ घण्टासम्म ड्युटी गर्न बाध्य गराइएको गुनासो उनीहरूको छ।