शनिबार, चैत्र २९, २०७६ || 846  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण अपाङ्गता भएका व्यक्तिले राहत नपाउँदा जीवनयापनमा जटिलता आएको गुनासो गरेका छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ४, ५, ६ र ७ एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ मा धेरै अपाङ्गता भएका व्यक्ति बसोवास गर्छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ मा अपाङ्ग सेवा सङ्घ–आशा केन्द्र, वडा नं ४ मा अपाङ्ग पुनःस्थापना केन्द्र छ भने वडा नं ६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ स्थित थली ओरालोमा पनि नेपाल अपाङ्ग सङ्घ छ । जहाँ अपाङ्गता भएका ३५ बालबालिकालाई संरक्षण दिइएको छ । यी संस्थामा आवासीयरूपमा पनि अपाङ्गता भएका व्यक्तलाई राखिएको छ । यी संस्थाले स्वरोजगारलगायत कार्यक्रमसमेत सञ्चालन गर्ने भएकाले पनि यस क्षेत्रमा धेरै अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको हो । अपाङ्ग सेवा सङ्घ–आशा केन्द्रका अध्यक्ष तिलककुमार श्रेष्ठले संस्थाले आवासीयरूपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभए पनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको बताउनुभयो । अपाङ्गता भए पनि केही आयआर्जन गरी खानेका लागि बाहिर निस्कन नपाउँदा अप्ठ्यारो हुने भएकाले यस्ताका लागि स्थानीय सरकारले प्राथमिकतामा राहत दिनुपर्ने उहाँको भनाइ छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा बसोबास गर्नुहुने न्यून दृष्टियुक्त दिवस विष्ट बन्दाबन्दीको १९औँ दिनसम्म पनि नगरपालिकाबाट राहत पाउन नसकिएको गुनासो गर्नुभयो । “नगरप्रमुखलाई भन्यो भने वडाध्यक्षलाई भन्नुस् र वडाध्यक्षलाई भन्यो भने नगरप्रमुखलाई भन्नुस् भन्ने गर्नुभएको छ, हामीले राहत भने पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले घरमा राहत पु¥याएका छौँ, खाद्यान्नको अभाव भई किनेर खान चाहनेका लागि पनि घरघरमै ढुवानीको व्यवस्था गरिएको छ भनी प्रचारप्रसार गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको अपाङ्गता भएका व्यक्तिको भोगाइ छ । तीनै तहका सरकारले सञ्चारमाध्यममा सबै सेवा उपलब्ध गराएका छौँ भनी प्रचार गर्ने तर व्यवहारमा जनताले केही नपाउने अवस्था आएको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा बसोबास गर्दै आउनुभएकी सावित्री बस्नेतको गुनासो छ । “मुखले ठिक्क, कामले दिक्कको अवस्था तीनै तहका सरकारबाट हामीले भोगेका छौँ”, उहाँले भन्नुभयो । कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनीले राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुरोग भएकालाई प्राथमिकतामा राखिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई आवासीयरूपमा राख्ने संस्थालाई पनि सहयोग दिने बचन दिएको उहाँले सुनाउनुभयो । सरकारले अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेको छ । पूर्णरूपमा अपाङ्गता भएकालाई ‘क’ वर्गमा राखिएको छ । ‘क’ वर्गमा राखिएकालाई सामाजिक सुरक्षास्वरुप मासिक भत्ताको समेत व्यवस्था गरिएको छ । आंशिकरूपमा अपाङ्गता भएकालाई ‘ख’ वर्गमा राखी मासिकरूपमा आधा भत्ता दिइन्छ । ‘ग’ र ‘घ’ वर्गकाको भने सामान्य अपाङ्गता मात्र हुने भएकाले भत्ता दिइँदैन । कागेश्वरी नगरपालिकामा ‘क’ वर्गका २०० र ‘ख’ वर्गका ६० जना रहेको नगरापालिकाले जनाएको छ । न्यून दृष्टियुक्त भएका व्यक्तिलाई खानेपानीको समस्या बन्दाबन्दीका कारण खानेपानीसमेत पाउन नसकिएको न्यून दृष्टियुक्त विष्टको गुनासो छ । “आँखा देखिने भए मूल खोज्दै गएर खानेपानी ल्याइन्थ्यो, एक हातले लठ्ठी समातेर कसरी पानीको मूल खोज्दै हिँड्नू, वडा कार्यालय जान लाग्दासमेत बाटामा प्रहरीले रोक्ने गरेको छ”, बन्दाबन्दीको पीडा सुनाउँदै उहाँले भन्नुभयो । गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्यालले राहत आएपछि पहिलो प्राथमिकता नै अपाङ्गता भएका व्यक्तिलाई दिई राहतको शुरुमै १४ बोरा चामल खगेन्द्र नवजीवन केन्द्रमा झारिएको बताउनुभयो । अपाङ्गता भएकालाई अन्यत्रबाट केही हुन सकेन भने आफूले व्यक्तिगतरूपमा भए पनि राहत दिने उहाँको प्रतिबद्धता छ । वडा र नगरपालिकामै खानेपानीको समस्या छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटक–पटक पानीको व्यवस्था गर्न भने पनि खोल्ने मानिसको अभाव भएर पाउन नसकिएको वडाध्यक्ष अर्यालले बताउनुभयो । वडामा छ हजार परिवारका करिब ३० हजार मानिस बसोबास गर्ने भएकाले पानीको समस्या समाधान गर्नु चुनौतीपूर्ण रहेको वडा कार्यालयले जनाएको छ । गोकर्णेश्वर पानीको मुहान भएको नगरपालिका भए पनि यहाँ खानेपानीको समस्या जटिल छ । वाग्मतीको पानी नगरपालिकाको वडा नं १ सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि लगिए पनि नगरपालिकामै नपाएको नगरवासीको गुनासो छ । जसको प्रत्यक्ष मारमा परेका छन् न्यून दृष्टियुक्त व्यक्ति र हात गोडाका अपाङ्गता भएका नागरिक । नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण २०७६ अनुसार नगरपालिकामा अपाङ्ता भएका २०० परिवार बसोबास गर्छन् । विभिन्न संस्थाको आवासमा बस्ने अपाङ्गता भएकाको सङ्ख्या यसमा समावेश नगरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा करिब तीन दर्जन सामाजिक संस्था यस क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् । डेढ दर्जन संस्थाले आवासीय सुविधासहित अपाङ्गता भएकालाई आश्रय दिएका छन् । लायन्स क्लब अफ ए वन ३२५ ले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिई राहत वितरण गरे पनि सबैले पाउन सकेका छैनन् । सरकारले ज्याला गरेर जीवनयापन गर्ने मजदूर, अपाङ्गता भएका, विपन्न वर्गका परिवारलगायतलाई स्थानीय तहकै कोषबाट राहत दिन निर्देशन दिएको थियो । स्थानीय सरकारले राहत दिन सक्रियता देखाए पनि अपाङ्गता भएको पहुँच पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!