काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले फागुन २१ मा तोकिएको मध्यावधि निर्वाचन हालको अवस्थामा सम्भव नहुन सक्छ भन्ने संकेत गरेका छन्।
मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष यादवले अन्तरिम सरकारले निर्वाचन गराउने क्षमतामा विश्वास जगाउन नसकेको बताएका हुन्।
उनका अनुसार, ६ महिनाका लागि गठन गरिएको सरकारको एक महिना कामविहीन रुपमा बितिसकेको छ, जसले निर्वाचनको तयारीप्रति गम्भीर प्रश्न खडा गर्छ।
यादवले चुनाव जस्तो गम्भीर प्रकृया राजनीतिक दलहरूको सहमतिबिना अघि बढाउन खोज्नु विफलतातर्फ लैजाने बताए। उनले राजा ज्ञानेन्द्रको पालामा गरिएका दलविहीन निर्वाचनहरूको उदाहरण दिँदै वर्तमान सरकारले पनि त्यस्तै बाटो रोजेमा लोकतन्त्रलाई हानि पुग्ने चेतावनी दिए।
उनले जोड दिए, “चुनाव गर्नु अघि राजनीतिक दलहरूसँग गहिरो संवाद र सहमति अनिवार्य छ।”
अध्यक्ष यादवले मुलुकको संविधान सबै नागरिकले स्वीकार गर्न सक्ने बनाउने आवश्यक रहेको बताए। “संविधान पुनर्लेखन वा व्यापक संशोधन नगरी निर्वाचन गर्नु उपयुक्त हुँदैन,” उनले स्पष्ट पारे।
उनले हाल संघीयता खारेज गर्न खोज्ने चलखेलहरू भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे। “संघीय लोकतान्त्रिक प्रणालीमाथि प्रहार भए, जसपा त्यसविरुद्ध सधैं अग्रपंक्तिमा रहनेछ,” उनले भने।
यादवले जेनजी आन्दोलनपछि बहुदलीय व्यवस्था कायम भए पनि पछिल्लो तीन दशकभन्दा बढी समयको शासनबाट जनताले अपेक्षित लाभ पाउन नसकेको उल्लेख गरे।
उनले कांग्रेस र कम्युनिष्टहरूलाई सत्ताको खेलमा मात्र रमाएको आरोप लगाउँदै, देशमा स्थायित्व र समृद्धिको बाटोमा गम्भीर बाधा बनेको टिप्पणी गरे।