कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ । कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ । वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले वताउनुभयो । वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन् । घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उहाँको गुनासो छ । गिरीले रासससँग कुरा गर्दै भन्नुभयो, “अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।” उहाँका अनुसार पहिले खर्च कटाएर पनि मासिक रु एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ । वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४ गाई पाल्नुभएको छ । उहाँले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आउनुभएको थियो । यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ । उहाँको जस्तै समस्या वडा नम्बर–९ चप्परगाउँका अगुवा कृषक विष्णु पौडेलको पनि छ । उत्पादित दूध बिक्री नभएपछि छरछिमेकलाई फोन गरेर दूध लिन बोलाएको र बचेको दूधको पनिर बनाइएको उहाँले बताउनुभयो । वडा नम्बर–११ खुरबुधियाका पशुपालक किसान कमल सुवेदी गाउँस्थित डेरीले दूध नल्याउनू भनेपछि उत्पादित दूध गाउँबाट १० किलोमिटर दूरीमा रहेको डेरीमा गएर बेच्न बाध्य हुनुभएको छ । गोठभरि ४० भैँसी पालिरहनुभएका बुद्धभूमि नगरपालिका मोर्मा–३ का ईश्वरी पौडेल लकडाउनका कारण दाना पाउन समस्या भएको र पाए पनि महँगो पर्ने भएकाले समस्या निम्तिएको बताउनुहुन्छ । शुद्धोधन गाउँपालिका– १ बगदीका खेमराज भण्डारीले सन्तुलित र चापट दाना प्रति क्विन्टल रु ५०० देखि ६०० सम्म मूल्यवृद्धि भएकाले गोठमा भएका गाईभैँसी पाल्नसमेत धौधौ भएको बताउनुभयो । दैनिक साठी लिटर उत्पादन भइरहेको दूध घटेर अहिले २५ लिटरमा पुगेको बताउँदै उहाँले घरमा भएको दूध फाल्नुपर्ने र आफन्त बोलाएर दिनुपरेको गुनासो गर्नुभयो । वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताउनुभयो । तिनमा तीन ठूला र चारपाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिनुभयो । जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्षअप्रत्यक्ष मारमा परिरहेको खनालको बताउनुहुन्छ । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका उद्योग धरापमा पर्ने अवस्था आउने उहाँको आकलन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!