
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा उनले प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले नेपाली कांग्रेस निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे।

‘संविधान जोगाउने र देशलाई संक्रमणबाट बाहिर निकाल्ने एक मात्र उपाय निर्वाचन हो,’ डा. कोइरालाले भने, ‘हामी निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा शंका पैदा भएको छ।’
सरकारले अझै निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनले बताए। ‘केही दलका नेताहरूलाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिरै छन्, कैदीहरू खुला छन्। यी विषयमा सरकारले के सोचिरहेको छ ?’ भन्दै उनले प्रश्नसमेत गरे।