मंगलबार, चैत्र २५, २०७६ || 758  पटक पढिएको
जिल्लाका सात स्थानीय तहमध्ये कतिपयले लगत लिने काम गरिरहेका छन् भने कतिपयले राहत बाँडिरहेका छन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । भरतपुर महानगरपालिकाले २९ वटै वडामा राहत बाँड्न शुरु गरिसकेको छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाख र महानगरपालिकाको रु ५० लाख गरी रु ७० लाख पहिलो चरणमा राहत बाँड्नका लागि वडामा पठाइसकिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार एउटा वडालाई सङ्ख्याका आधारमा रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म पठाइएको छ । सरकारले तोकेअनुसार राहत पाउनुपर्नेको सङ्ख्या महानगरमा करिब ३० हजार हुने उहाँको भनाइ छ । रत्ननगर नगरपालिकाले लगत सङ्कलनको काम गरिरहेको छ । नगरप्रमुख नारायण वनका अनुसार पहिलो चरणमा चार हजार १०० परिवारले राहतका लागि नाम टिपाएका छन् । सो सङ्ख्या बढी भएकाले वास्तविक राहत पाउनुपर्नेको पुनः तथ्याङ््क अद्यावधिक गर्न वडाध्यक्षलाई भनिएको उहाँले जानकारी दिनुभयो । दुई दिनमा तथ्याङ्क अद्यावधिक गरी राहत बाँडिने वनको भनाइ छ । खानै मुस्किल भएकालाई भने वडा कार्यालयमार्फत सहयोग दिन थालिएको उहाँले जानकारी दिनुभयो । खैरहनी नगरपालिकाले राहत वितरण थालिसकेको छ । नगरप्रमुख लालमणि चौधरीका अनुसार तीन हजार ५०० घरधुरीलाई राहत दिनुपर्ने देखिएसँगै वितरण शुरु गरिएको छ । पहिलो चरणमा रु ३० लाख हाराहारी खर्च हुने उहाँले जानकारी दिनुभयो । राप्ती नगरपालिकाले राहतका लागि पोका पार्ने काम भइरहेको जनाएको छ । कोटेसनमार्फत राहतका सामग्री खरिद गरी पोका पार्न लगाइएको हो । नगरप्रमुख प्रभा बरालका अनुसार आजबाट राहत बाँड्न शुरु गरिने छ । चार हजार घरधुरीलाई राहत बाँडिने उहाँले जानकारी दिनुभयो । नगरभित्र विकट पहाडी गाउँसमेत रहेकाले राहत बढीलाई दिनुपर्ने देखिएको हो । पहाडी क्षेत्रसमेत समेटेको कालिका नगरपालिकाले पनि तथ्याङ्क लिने काम गरिरहेको छ । नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई दिन जतिमा यकिन तथ्याङ्क आएपछि घरघरमै पुगेर राहत बाँड्ने तयारी गरिएको छ । राहत कतिलाई दिनुपर्छ भन्नेबारेमा अहिले नै भन्न नसकिने भन्दै उहाँले भन्नुभयो, “घाँटीमा मोटो सिक्री र पल्सर मोटरसाइकल चढेर राहत चाहियो भन्न आएका छन् । त्यस्तालाई हामी राहत दिँदैनौँ ।” माडी नगरपालिकाले एक हजार ११६ परिवारलाई राहत वितरण गरिसकेको छ । थप तथ्याङ्क सङ्कलन हुने काम भइरहेको प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा रु १५ लाख बराबरको राहत बाँडिएको उहाँले जानकारी दिनुभयो । अत्यावश्यकबाहेकलाई राहत नदिइएको ढकालको भनाइ छ । ग्रामीण र चेपाङ समुदायको बाहुल्यता भएको इच्छाकामना गाउँपालिकामा राहत बाँड्न शुरु गरिएको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले एक हजार ४७० परिवारलाई पहिलो चरणमा राहत बाँड्न शुरु गरिएको बताउनुभयो । राहत दुई हजार ७०० परिवारले माग गरेका छन् । गुरुङले छाकै टार्न कठिन भएकालाई पहिलो चरणमा राहत बाँडिएको जानकारी दिनुभयो । दातालाई राहत दिनुपर्दा गाउँपालिकामार्फत दिन अनुरोध गरिएको भन्दै उहाँले राजनीतिक दल र सामाजिक सङ्घसंस्थाले पनि गाउँपालिकामार्फत राहत उपलब्ध गराएको बताउनुभयो । स्थानीय तहहरुले सातदेखि १० दिनलाई हुने गरी राहत वितरण गरेका छन् । टोल सुधार संस्थामार्फत वडामा सङ्कलन भएका तथ्याङ्कलाई आधार मानेर उनीहरुले राहत बाँडिरहेका छन् । वडा कार्यालयले सर्वदलीय समिति निर्माण गरी टोलमार्फत राहत बाँड्ने काम गरिरहेका छन् । यही चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी र श्रमिक मजदुरलाई लकडाउन अवधिभर खान पुग्ने गरी राहत वितरण गर्ने निर्णय गरेअनुसार स्थानीय तहले राहत बाँडेका हुन् । गैँडाको आक्रमणबाट एकको मृत्यु पश्चिम चितवनमा गैँडाको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ३९ वर्षीय पूर्णबहादुर कुमाल रहेको चितवन राष्ट्रिय निकुजका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा निगुरोे टिप्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!