हिपमत डटकम

आइतबार, कार्तिक ०३, २०८२ || 1058  पटक पढिएको

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा रोकिएको ओभरपास निर्माण कार्य तीन महिनापछि पुनः सुरु गरिएको छ। गत असारको अन्तिम साता रोकिएको निर्माण कार्य असोज २३ गतेदेखि पुनः अघि बढाइएको हो।

लहानको मुख्य चोकमा निर्माणाधीन ओभरपासका ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिएको भए पनि अन्य संरचनाको काममा ढिलाइ हुँदा चोक क्षेत्र अस्तव्यस्त बनेको छ। स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, “धुलो र हिलोले व्यापारमा असर परेको छ, आवागमन पनि कष्टकर छ।”

सहिद स्मारक भत्काएपछि सवारी सञ्चालनका लागि डाइभर्सन व्यवस्था गरिएको भए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ। निर्माण ढिलाइको विरोधमा गत असारमा स्थानीयहरूले चक्काजाम समेत गरेका थिए।

ओभरपास निर्माणको जिम्मेवारी लिएको चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम पुनः सुरु गरेको हो।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहान खण्डमा निर्माण ढिलिनुमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षाजस्ता कारण प्रमुख छन्। उनले भने, “ओभरपास, अन्डरपास र आकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य संरचना अगाडि बढाउन सकिँदैन, यसले पनि ढिलाइ भएको हो।”

उनका अनुसार, सडक किनारमा रहेका बिजुलीका पोल समयमै नहटाइनु पनि एक प्रमुख अवरोध भएको छ।

निर्माणाधीन ओभरपासको लम्बाइ ५५० मिटर, ग्राउन्ड क्लियरेन्स ६ मिटर, र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।

सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर दूरीको सडकलाई चार लेनमा विस्तार गर्न १५ अर्ब ६६ करोड रुपैयाँको लागतमा सन् २०२० मा ठेक्का सम्झौता गरिएको हो।

हालसम्म ११२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सकिएको र १२ वटा पुल सवारीका लागि खुला भइसकेको आयोजनाले जनाएको छ। तर, ठेक्का अवधि सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति केवल ६७ प्रतिशत मात्र पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!