काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेको भन्दै नेतृत्वमाथि कडा आलोचना गरेका छन्। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएका समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गरेका घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा बैठक लम्ब्याएको आरोप लगाए।
“पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ,” घिमिरेले भने, “हामी यसरी किन बैठक सारिरहेका छौँ, आज जनमानसले प्रश्न गरिरहेको छ।”
उनले केन्द्रीय कार्यसमिति महाधिवेशनभन्दा माथि नपर्ने भन्दै महाधिवेशनको आदेश पालना गर्नुपर्नेमा जोड दिए। “अन्य राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसके, हामीलाई केले रोक्यो? हामी आफैँलाई प्रजातान्त्रिक आन्दोलनको नमुना भन्छौँ,” उनले भने।
नेता घिमिरेले कांग्रेसले आफूलाई प्रजातान्त्रिक गुरुकुलको प्रचार्य ठान्ने गरेको तर प्रमुख नेताहरूले नै आफ्नो भूमिका निर्वाह नगरेको भन्दै आक्रोश पोखेका छन्।
यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आगामी कात्तिक १३ गतेका लागि बोलाएको छ।