
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार झापास्थित १४ वर्षदेखि अलपत्र रहेको कन्काई पुलको निरीक्षण गर्नुभएको छ।

झण्डै ५१ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको सो पुल हालसम्म ५५ प्रतिशत मात्र प्रगति भएको छ। निरीक्षणपछि मन्त्री घिसिङले निर्माण प्रक्रिया लम्बिँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, छिट्टै ठोस निर्णय लिइने प्रतिबद्धता जनाउनुभयो।
उहाँले निर्माण व्यवसायीसँगको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान सकिने सम्भावना समेत औंल्याउँदै, तत्काल समाधानको लागि आवश्यक निर्णय लिइने बताउनुभयो।
निरीक्षण टोलीमा सम्बन्धित मन्त्रालयका सचिवहरू तथा विभागीय महानिर्देशकहरू समेत सहभागी थिए। निरीक्षणको क्रममा मन्त्री घिसिङले बाढीले क्षति पुर्याएको सानोमाई खोला पुलको अवस्था पनि अवलोकन गर्नुभएको थियो।