

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार बिहान स्वास्थ्य समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
शीतल निवासमा जेन–जी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिइन्।
उनका अनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ र चिकित्सकहरूको परामर्श अनुसार केही दिन विश्राममा रहनेछन्। यस कारण, जेन–जी प्रतिनिधिसँगको वार्ता सोमबारका लागि सारिएको छ।
शनिबार वार्ता स्थगित भएपछि केही जेन–जी कार्यकर्ताले राष्ट्रपति कार्यालय अगाडि असन्तुष्टि जनाउँदै नाराबाजी समेत गरेका थिए।
राष्ट्रपति पौडेलले यसअघि शुक्रबार प्रधानमन्त्री र विभिन्न दलका नेताहरूसँग आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन तयारीबारे छलफल गरेका थिए।