हिपमत डटकम

शनिबार, जेठ ११, २०८२ || 1349  पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।

अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तव्य बनाउनुपर्ने होटल ब्यवसायीसमेत रहेका पुनले बताए । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन । भिराखो पाखोको भिरालो पैदलमार्गमा हिँड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्दरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ ।

करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा निलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान)छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन् ।

छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए । छहरे झरना अवलोकन गर्दै तनाव भुलाउन र थकान मेटाउन सकिने उनले बताए । शान्त र एकान्त वातावरणमा रमाउन पाउनु पनि छहरे झरनाको विशेषता हो ।

झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ ।

झरनाको माथिल्लो भागसम्म कच्ची सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास)को सुविधा छ । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरेको बताए ।

सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग, दृश्य अवलोकनस्थल र बिश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले बताए। रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!