विराटनगर – आज नेपाली महिलाहरूले सप्तऋषिको पूजा गर्दै ऋषिपञ्चमी पर्व मनाइरहेका छन्। यो पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ र महिलाहरूले बिहान उठेर स्नान गरी नदी, पोखरी वा खोलामा गई दत्तिउनले दाँत माझ्ने परम्परा पालन गर्छन्। स्नानपछि गाईको गोबर, माटो र खरानी प्रयोग गरेर सप्तऋषिको पूजा गरिन्छ।
ऋषिपञ्चमी महिलाहरूको विशेष पर्व हो जसमा रजस्वलाका समयमा भएका त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित सप्तऋषिको पूजा गरिन्छ।
धार्मिक मान्यताअनुसार, महिलाले विशेष स्नान र पूजा गरेर पञ्चगव्य सेवन गर्नु पर्ने मान्यता छ जसले छुवाछूतको दोष निवारण गर्दछ।
आज ऋषेश्वर मन्दिरहरूमा श्रद्धालु महिलाहरूको ठूलो उपस्थिति छ, जहाँ उनीहरूले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिरहेका छन्।