हिपमत डटकम

शनिबार, आषाढ ३०, २०८१ || 8351  पटक पढिएको

जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् । अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ ।

अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।

घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरु बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताए । “भाँडाकुँडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझबिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ”, उनले भने, “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”

दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको सहारा बस्नुपरेको उनले बताए । “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उनले भने, “दराज र सोफा लेदोले पुरिएको थियो ।घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।”

टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठुलो नोक्सानी गरेको छ । बाढीले केही घर पूर्ण रूपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् ।

रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताइन् । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उनले भनिन्, “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उनले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताइन् ।

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठुलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए । उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठुलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!