हिपमत डटकम

बुधबार, जेठ २४, २०८० || 1608  पटक पढिएको

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाईसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र जनगुनासो सुन्नका लागि सदुपयोग गर्न सुरु गर्नु भएको छ ।

मेयर कोइराला सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कनु हुन्छ । मेयर कोइरालाले बिहान ६ देखि साढे ९ बजेसम्मको समय अनुगमनका लागि छुट्याउनु भएको छ । उहाँले अनुगमनमा हिंड्दा जनताका समस्या र गुनासो सुन्नुका साथै सुझावसमेत लिने गर्नुभएको छ । “दिउँसो कार्यालय र कार्यक्रमहरूमा व्यस्त हुने भएकाले बिहानको समयमा अनुगमन गर्ने गरेको छु,” उहाँले भन्नुभयो, “यसले जनतासित भेटघाटसँगै उहाँहरूका समस्या र गुनासो सुन्नुका साथै सुझावसमेत लिने गरेको छु ।”

मेयर कोइरालाले हरेक दिन बेग्लाबेग्लै वडाको अनुगमन गर्ने गर्नुभएको छ । अनुगमनमा जाँदा सम्बन्धित वडाका अध्यक्षसहित जनप्रतिनिधिहरूलाई समेत सहभागी गराउँदै आउनु भएको छ । यसरी गर्ने अनुगमनलाई उहाँले ‘प्रभातकालीन अनुगमन’ नाम राख्नु भएको छ । “बिहान अनुगमन गर्दा धेरैवटा काम हुँदो रहेछ,” मेयर कोइराला भन्नुहुन्छ, “मर्निङवाक त हुने नै भयो । त्यसबाहेक सरसफाई कर्मचारीहरूले रोड सफा गरेका छन् कि छैनन्, निर्माण भइरहेका संरचनामा पानी हालेको छ कि छैन, सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण रोकिएको छ कि छैन जस्ता धेरै कुराहरू थाहा हुने रहेछ ।”

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी राखेको छ । गत माघदेखि महानगरका सडकका नालाको सरसफाई तीव्र पारेको छ । वर्षा सुरु हुनुअगाडि नै सबै नाला सरसफाई गरिसक्न मेयर कोइरालाले निर्देशन दिँदै आउनु भएको छ । अनुगमनका क्रममा मेयर कोइरालाले नालाको सरसफाईको अवस्थाका बारेमा पनि जानकारी लिँदै आउनु भएको छ । मेयर कोइरालाले सुरु गरेको ‘प्रभातकालीन अनुगमन’ अत्यन्तै सकारात्मक भएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउनुहुन्छ । यसरी अनुगमनमा निस्कँदा जनप्रतिनिधि र जनताबीचको सम्बन्ध झनै प्रकाढ हुने ढुंगेलको बुझाइ छ । “जनप्रतिनिधि भनेको जनताको सेवक हो । जुन कुरा विराटनगरका मेयर साबले प्रमाणित गर्नु भएको छ,” उहाँले भन्नुभयो, “उहाँको सक्रियताका कारण फुटपाथ, सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोकसँगै उज्यालो विराटनगर, सरसफाई, पार्किङलगायतमा विराटनगरवासीले महसुस गर्ने गरी काम भएको छ ।” अध्यक्ष ढुंगेलले ‘प्रभातकालीन अनुगमन’लाई निरन्तरता दिन सुझावसमेत दिनुभयो ।

यसैबीच, मेयर कोइरालाले बुधबार बिहान विराटनगर–१५ र १६ सिमानास्थित रानी रोडमा निर्माण भइरहेको कल्भर्डको अनुगमन गर्नु भएको छ । कल्भर्ड जीर्ण हुँदा पटक–पटक दुर्घटना हुने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । महानगरले कल्भर्ड बनाउन सुरु गरेपछि भने स्थानीयसमेत खुसी भएका छन् । वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेल र महानगरको प्राविधिक टोलीसहित पुग्नु भएका मेयर कोइरालाले निर्माणको स्थिति, गुणस्तरको अवस्थालगायतका विषयमा योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापासित जानकारी लिनु भएको थियो । उहाँले व्यस्त सडक भएकाले तीव्र गतिमा कल्भर्ड निर्माण गर्न निर्देशनसमेत दिनुभयो । सो कल्भर्ड कोशी प्रोजेक्ट हुँदै जोगबनी जाने मुख्य सडकमा पर्दछ । कल्भर्ड जीण हुँदा दैनिक सिटी, मोटरसाइकल, साइकल दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । स्थानीयको गुनासोलाई महानगरले तत्कालै सम्बोधन गरेको स्थानीय चण्डेश्वर विश्वकर्माको भनाइ छ । उहाँले विगत चार वर्षभन्दा लामो समयदेखि उक्त कल्भर्ड नबन्दा दुर्घटनासँगै धुलोले गर्दा स्थानीयले सास्ती व्यहोर्नु परेको बताउनुभयो । “हामीले वडा र महानगरमा गएर कल्भर्ड निर्माण गर्न माग गरेका थियौं,” विश्वकर्माले भन्नुभयो, “हाम्रो माग यति छिट्टै कार्यान्वयन भयो कि हामी अत्यन्तै खुसी छौं ।”

त्यहाँ पुग्नुअघि वातावरण तथा सरसफाईका शाखाका प्रमुख पुनम दाहाल र किरण न्यौपानेलाई साथैमा लिएर १२ र १३ नम्बर वडाका विभिन्न स्थानको सरसफाईको अवस्थाका विषयमा समेत अनुगमन गर्नु भएको थियो । सो क्रममा कोशी प्रोजेक्ट छेउमा खाटमाथि खुल्ला ठाउँमा राखेर बिक्री गरिरहेको खसीको मासु व्यवस्थित गर्न लगाउनुभयो । खुल्ला रुपमा मासु बिक्री गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने मेयर कोइरालाले बताउनुभयो । उहाँले अबदेखि पसलभित्र राखेर व्यवस्थित रुपमा मासु बिक्री गर्न व्यवसायीलाई निर्देशनसमेत दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!