कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यान दिँदै नेपाली सेनाले आन्तरिक तयारी तीब्र पारेको छ ।
सोही तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरूलाई तामिल दिएको छ । उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालमा कार्यरत चिकित्सकलाई तालिम दिइएको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २—२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकलाई तालिम दिइएको जानकारी दिए ।
सेनाले १ सय ८१ जनालाई तालिम दिइएको छ । जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम छन् ।
सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट बनाएको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटामा २ वटा बेड हुनेगरी टेन्ट बनाएको हो ।
प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २—२ वटा आइसोलेशन कक्षहरु समेत बनाइएको बताए । फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइशोलेन बेडहरु हुने पाण्डेले जानकारी दिए ।
कोरोना संक्रमितको उपचार विधिबारे जानकारी दिन सेनाले तालिम आयोजना गरेको हो । विश्वका एक सय ६५ बढी देशमा फैलिएको छ कोरोना भाइरस ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिमको क्षेत्रमा सूचीमा राखेको छ । सरकारले जोखिम रोक्न युद्ध स्तरमा सतर्कताका काम गरिरहेको छ ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति नै बनाएर काम गरिरहेको छ ।