मंगलबार, चैत्र ०४, २०७६ || 731  पटक पढिएको

विसं २०५१/०५२ ताका दण्डपाणि न्यौपाने मालपोत क्षेत्रको मुद्दा मामिलामा राम्रो दख्खल राख्ने कर्मचारीका रुपमा चिनिनुहुन्थ्यो । उहाँ खटिएको कार्यालयमा मात्रै नभएर अन्यत्र पनि कुनै समस्या पर्दा उहाँको राय लिने गरिन्थ्यो । उहाँ कानून पढ्दै गर्दा आफ्नो ब्याचका अब्बल विद्यार्थी हुनुहुन्थ्यो तर स्वास्थ्यमा समस्या आएपछि उहाँलाई औधि माया गर्ने साथी पनि टाढिए । तथापि उहाँ राष्ट्रसेवक जिम्मेवारी पूरा गरिरहनुभयो, गरिरहनुभयो निरन्तर ।

अहिले उनै दण्डपाणि न्यौपाने मालपोत कार्यालय भैरहवामा परेको सङ्कटको मसिया साबित हुनुभएको छ । सँगै काम गर्ने कार्यालय अधिकृत र अन्य साथीलेसमेत अस्वस्थताका कारण गहन जिम्मेवारी नपाएका न्यौपानेले अहिले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

वर्षौंपछि उहाँलाई विभागले जिम्मेवारी दिएको हो । विगतको कार्य सम्पादनलाई सम्मान गर्दै दुईजना अधिकृत हुँदाहुँदै १९ जना नायब सुब्बामध्ये उहाँलाई जिल्ला मालपोत कार्यालय भैरहवाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख कुमार आचार्य गत फागुन २१ गते काज सरुवा भएर साखु मालपोत कार्यालय गएपछि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी भूमिश्वर ढकालले बहन गर्दै आउनुभएको थियो । आचार्यको दरबन्दी भैरहवा मालपोत कार्यालय हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख मन्त्रालयको निर्देशनसहितको पत्र आएसँगै उहाँ एकाएक व्यस्त हुनुभएको छ । विभागको चलानी नं ७४४ को पत्रअनुसार मालपोत कार्यालय भैरहवामा कार्यालय प्रमुख र निमित्त कार्यालय प्रमुखसमेत अनुपस्थित भएका कारण सेवा प्रवाहमा समस्या हुनुका साथै सेवाग्राहीको काम नभएको भन्ने जानकारी आएकाले अर्को व्यवस्था नभएसम्मका लागि वरिष्ठ नायब सुब्बा दण्डपाणि न्यौपानेलाई निमित्त प्रमुख भई दैनिक तथा कामकाज गर्न आदेशानुसार अनुरोध छ भन्ने व्यहोराको पत्र आएको छ ।

उक्त पत्र प्राप्त भएसँगै नासु न्यौपानेले सेवाग्राहीको काम फटाफट अगाडि बढाउनुभएको छ । कार्यलय परिसरकै बेञ्चमा बसेर उहाँले सेवाग्राहीलाई सेवा दिइरहुनभएको छ । सिद्धार्थ नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन, गैडहवा गाउँपालिका पूरै र देवदह तथा तिलोत्तमा नगरको केही वडासमेत कार्य क्षेत्र भएको उक्त मालपोतमा दैनिक ५०० भन्दाबढी सेवाग्राही आउने गर्दछन् ।

कार्यालयमा एक जना कार्यालय प्रमुख, दुई जना अधिकृत, १९ जना नायब सुब्बा, पाँच जना खरिदार, छ जना सहायक, तीन जना कम्प्युटर अधिकृत र एक जना सवारी चालक रहेका छन् । तर गत शुक्रबार मालपोत कार्यालयका नायब सुब्बा धुर्मराज पन्थी नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसँगै घुस काण्डमा अख्तियारद्वारा पक्राउ परेपछि कार्यालयका अधिकृत र अधिकांश सुब्बा कार्यालय नै आएका छैनन् । शुक्रबारदेखि अधिकृतद्वय भूमिश्वर ढकाल र ईश्वरचन्द्र अर्याल पनि बिदा लिएर हिँडेका छन् । राससले निमित्त प्रमुख भूमिश्वरलाई सम्पर्क गरी सबै अधिकृत मालपोत छाडेर हिँड्नु भएछ नि भनी सोध्दा उहाँले फोनमा भन्नुभयो, “मैले मालपोतमा नसक्ने भए । म त सरुवा लिन काठमाडौँ आएको छु ।” ३७ जना कर्मचारी कार्यरत रहेको मालपोत र्र्काालय भैरहवामा यतिबेला हिम्मतका साथ नासु दण्डपाणिले काम गरिरहनुभएको छ । अस्वस्थताका बाबजुद पनि उहाँले कार्यालय प्रमुख र दुईजना अधिकृत भागभाग हुँदासमेत राष्ट्रसेवकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

दैनिक २०० को हाराहारीमा लिखतको काम हुने उक्त मालपोत कार्यालयमा नामसारी, हाल साविक, घर कायम, रोक्का, संशोधन, मुद्दा गरी ५०० भन्दाबढी काम आउने गरेको कार्यालय सहयोगी लालबहादुर थापाले बताउनुभयो । “मुद्दाबाहेक अन्य काम गर्न मिल्छ । मैले जनतालाई दुःख दिन हुन्न भनेर काँधमा जिम्मेवारी लिएको हुँ । हाम्रा समस्या देखाएर जनतालाई दुःख दिने काम ठीक होइन भनेको छु । विभागले लिखितरुपमा काम गर्ने जिम्मेवारी दिएको छ । अर्का अधिकृत वा कार्यालय प्रमुख नआउँदासम्म म भैरहवा मालपोतको जिम्मेवारी लिन तयार छु । साथीले सहयोग गरेमा कुनै समस्या हुँदैन”, निमित्त प्रमुख न्यौपानेले भन्नुभयो ।

फागुन ३० गते शुक्रबार १७ लाख घुससहित मालपोत र नापीका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि मालपोत कार्यालयमा काम ठप्प भएको थियो । उक्त काण्डमा आफ्नो पनि नाम मुछिने डरले अधिकृत र अधिकांश सुब्बा खरिदार बिदा लिएर हिँडेको बुझिएको छ ।

निमित्त प्रमुखको जिम्मेवारी लिने कर्मचारी नहँुदा आइतबार दिनभरि काम ठप्प भएको थियो । काम रोकिँदा सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । सेवाग्राही योगेन्द्र चौधरीले अख्तियारले मालपोतका कर्मचारीलाई समातेर लैजाँदा मालपोतका कर्मचारी काम गर्न असमर्थ भई काम ठप्प पारेको आफूले बुझेको बताउनुभयो ।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले रु १७ लाख नगद रकमसहित छ जनालाई भैरहवा बसपार्क नजीकैबाट पक्राउ गरेको थियो । मालपोत र नापीमा अख्तियारको प्रवेशसँगै यतिबेला कर्मचारी कार्यकक्षमा बस्नसमेत हच्किएका छन् ।

नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवाका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई नियन्त्रणमा लिइएको अख्तियारका बुटवलका प्रवक्ता सुरेश भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!