
रंगेली। डोयाम सुरु भएसँगै मोरङका विभिन्न स्थानमा भक्काको व्यापार उल्लेख्य रूपमा बढ्न थालेको छ। हुलाकी सडक किनारका चोक–चोकमा बिहानैदेखि महिलाहरू भक्का बेच्न व्यस्त देखिन्छन्। विशेषगरी तराई भेगमा बसोबास गर्ने आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका महिलाहरू यस व्यवसायमा संलग्न छन्।

स्थानीय महिलाहरूले मंसिर महिनादेखि सुरु हुने भक्काको व्यापार माघ महिनासम्म निरन्तर सञ्चालन गर्दै आएका छन्। रंगेली बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्री टोल, पिपल चोकलगायत स्थानमा बिहानको समयमा भक्का बिक्री हुने गरेको छ।
भक्का तयार गर्न चामललाई दिनभरि भिजाएर साँझतिर मिल वा ओखलीमार्फत पिठो बनाइन्छ। त्यसपछि उमालेको पानीको बाफमा बटुकामा पिठो राखेर पकाइने परम्परागत विधिबाट भक्का तयार गरिन्छ। तयार भक्का प्रतिगोटा पाँचदेखि १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
महिलाहरूले बिहान पाँच बजेदेखि १० बजेसम्म १० देखि १५ केजी पिठोबाट तयार गरिएको भक्का बिक्री गर्ने गरेका छन्। बिहानको नास्ताका रूपमा बालबालिका, युवा तथा वृद्धवृद्धासमेतले भक्का रुचाउने गरेका छन्।
रंगेली–४ की ४५ वर्षीया आरतीदेवी मण्डलले भक्का बिक्रीबाट दैनिक चार सयदेखि पाँच सय रुपैयाँसम्म आम्दानी हुने बताइन्। स्थानीय हरियादेवी साहका अनुसार जाडोयाममा भक्का सर्वसाधारणको लोकप्रिय नास्ता बनेको छ। अहिले भक्कासँगै आलु चपको बिक्रीसमेत बढ्दै गएको स्थानीय रिता मण्डलले जानकारी दिइन्।