भरतपुर महानगरपालिकाले नारायणगढबजार क्षेत्रमा सडक मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार बिहानदेखि पूर्व–पश्चिम राजमार्गको नारायणगढबजार क्षेत्रमा निर्माण भएका भवन भत्काउन सुरु गरिएको हो ।
भरतपुर –३ सहिदचोकदेखि पुलचोक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मापदण्ड विपरित बनेका भवनका टप, रेलिङ र बाहिरी भ¥याङ केन्द्रित भएर सो कामको सुरुआत गरिएको छ । घर भत्काउन थालेपछि बजारक्षेत्रका स्थानीयबीच खैलाबैला भएको छ ।
महानगरले सूचना जारी गर्दैगर्दा एक पटक तरङ्गित बनेको बजारक्षेत्र त्यसपछि सुस्ताएको थियो । कसैले पनि आफनो घर टहरालगायतका संरचना भत्किन्छ भन्ने नसोचेको बताएका छन् । महानगरले गत मंसिर १३ गते सूचना प्रकाशित गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएअनुसार स्थानीय तहको क्षेत्रभित्र प्रचलित मापदण्ड पालना नगरी निर्माण भएका संरचना हटाउन अनुरोध गरेको थियो ।
३५ दिने म्याद दिएर जारी गरिएको सो सूचनामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल एवम् अन्य सरंचरना आफै हटाउन आग्रह गरेको थियो ।
भरतपुर महानगर क्षेत्रभित्र पर्ने पुलचोकदेखि गोन्द्राङसम्मको ६ किलोमिटर पूर्व–पश्चिम राजमार्ग सौन्दर्यकरणसहित ६ लेन बनाउन सुरु भइसकेको छ । विस्तारको काम अव बजार क्षेत्रमा सुरु हुने भएपछि कामलाई पहिलो प्राथमिकतामा राखिएको बुझिएको छ ।