हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 6800  पटक पढिएको
तस्बिर:वीरेन्द्रकुमार साह /हिपमत

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ।

नेपालीका कांग्रेस महानगर समितिद्वारा मंगलबार आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ।”

नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिनुभयो। उहाँले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताउनुभयो।

उहाँले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राख्नुभयो। नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रति जिम्मेवार भइ समर्पित भइ ‘बाटो सुधारिएको राजनीति’ निर्माण गर्नुपर्ने बताउनुभयो।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जे गर्न सक्ने हो त्यो मात्र बोल्न आग्रह गर्नुभयो। कांग्रेस नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच वर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

नव निर्वाचित मोरङका प्रतिनिधिसभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दीपक चापागाईं र लेखक गुरुराज घिमिरेलगायतले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!