हिपमत डटकम

बुधबार, आषाढ १५, २०७९ || 6647  पटक पढिएको

गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ । आज कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठूलो वर्षा भएको छ । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश एकमा परेको छ । झापा र मोरङमा धेरै ठाँउ डुवानमा परेका छन । झापाको गौरीगञ्जमा डुवानमा परेको ३८ घरका १ सय ५० जनालाई सुरक्षित ठाउँमा सारिएको छ । बाह्रदशी गाउँपालिका–२ सुकुम्वासी बस्ती पनि डुबानमा परेको छ । मोरङको कटहरी गाउँपालिका–१ टाइगर टोलका डुबान प्रभावित १ सय ३० वटा घरका झन्डै ५ सय २० जनालाई र खाद्यान्न तथा सरसामान सुरक्षित ठाउँमा सारिएको छ । विराटनगर महानगरपालिका–१ परोपकार इलाकामा रहेको ६० घरका डुबान प्रभावित २ सय ६४ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीको जोखिम

लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ । नारायणी, कर्णाली, बबई, बागमती, कोसी, गण्डकी नदीले जल सतह पार गरेको छ । अहिले कैलाली, कञ्चनपुर र आसपासका ठाउँमा ठूलो पानी परिरहेको छ । कैलालीको कान्द्रा नदी जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति नै सतकर्ताका लागि एसएमएस पठाइएको छ । त्यस्तै दाङ घोराही र आसपासको क्षेत्र, बाग्लुङको गलकोट आसपासमा पनि ठूलो पानी परेको छ । त्यहाँ भारी वर्षा मापन गरिएको छ । साथै बबईसहित अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्र भएर बहने साना नदीमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बुधबार बेलुकासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुली विपत

केही दिन यताको मनसुनी वर्षाका कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग ठाउँ ठाँउमा अवरुद्ध भएका छन । लगातारको वर्षाले गौमती नदीमा आएको बाढीले सदरमकाम सिन्धुलीमाडी स्थित नदी तटीय क्षेत्रमा जोखिम बढाएको छ । वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग,मध्यपहाडी लोकमार्ग,मदन भण्डारी राजमार्ग अन्तर्गतसडक खण्डका विभिन्न पहिरो गएर सडक अवरुद्ध भएका कारण यातायातका साधनहरु बीच सडकमै अवरुद्ध भएका छन् । बाढी पहिरोबाट अवरुद्ध भएको वीपी राजमार्ग र मध्यपहाडी लोकमाग संचालन गर्नकालागि सडक विभाग र स्थानीय प्रशासनले प्रयास गरिरहेको छ । कमला, मरिण र चदाहा नदीमा आएको बाढीले स्थानीय किसानहरुको हजारौं हेक्टर उर्वराखेती योग्य जमिन कटान गरेको छ ।

रुपन्देही बाढी

निरन्तरको वर्षाले रुपन्देहीका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । मंगलबार रातिको अविरल वर्षाले जिल्लाको देवदह, मर्चवारी, तिलोत्तमा, रोहिणीलगायत स्थानमा रहेका खेत डुबानमा परेका छन् । लगातारको वर्षासँगै बुटवलको तिनाउ नदीमा पानीको सतह बढेको छ । नदीले केही क्षेत्रमा कटान समेत सुरु गरेको छ । रुपन्देही, चुरे र आसपासको माथिल्लो क्षेत्रमा पनि ३ दिनदेखि निरन्तर पानी परिरहेकाले बाढीको सम्भावना रहेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ । पानीले बुटवल–३ ज्योतिनगरको बस्तीमा बाढी पसेको छ । वर्षाले तिलोत्तमा–२ मा रहेको सापकोटा फाइबर उद्योग डुबाउदा ३५ लाख बराबरको क्षति भएको छ । पानीले बुटवल बहुमुखी क्याम्पसको होस्टेल डुबानमा परेको छ ।

राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण देशका विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन् । बाढीले पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सन सडक बगाउँदा महेन्द्र राजमार्गमा यातायात अवरुद्ध भएको छ । अरुणखोला र दुम्कीवासको बीचमा पर्ने खहरेखोलामा निर्माण गरिएको करिब चालिस मिटर डाइभर्सन सडक बाढीले बगाएको हो । सडक बगाउँदा पूर्व–पश्चिम हिँडेका सयौं गाडी चोरमारा र दुम्कीवासमा रोकिएका छन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन–कुरिनटार सडक एकतर्फी यातायात सञ्चालनमा छ । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा पहाडी जिल्ला जोड्ने सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकमा सवारी साधन सञ्चालन हुन सकेको छैन । पहिरो खसेपछि बीपी र पुष्पलाल लोकमार्ग बुधबार बिहानदेखि अवरुद्ध बनेको छ । सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत खनियाँखर्कनजिक पहिरो खसेर र पुष्पलाल लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका छ को अक्करेभीरको खसेको पहिरोले गर्दा यातायात अबरुद्ध भएको हो । वर्षाकै कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ । अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरूद्ध भएको छ । शैल्यशिखर नगरपालिका–छ ग्वानी र वडा नम्बर नौ नकतड क्षेत्रमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!