काठमाडौँ, भदौ ३० — नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि मन्त्रालयमा आयोजित कार्यक्रममार्फत कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पदभार ग्रहण गरेसँगै मन्त्री खनालले तत्कालीन प्रभाव पार्ने निर्णयहरू गर्दै चुनावका लागि बजेट व्यवस्था गर्ने र पूर्वतयारीबिना अघि बढाइएका टुक्रे आयोजना कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।
उनले खर्च कटौती गर्दै योजनाबद्ध ढंगमा बजेट व्यवस्थापन गरिने स्पष्ट पारे। “अबको प्राथमिकता युवाका माग पूरा गर्नु हो, निर्वाचन गर्नु हो,” मन्त्री खनालले भने, “त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो।”
मन्त्री खनालले आर्थिक अनुशासन कायम राख्दै विकास परियोजनामा प्राथमिकता निर्धारण गरिने जनाएका छन्।