काठमाडौ । वायुसेवा सञ्चालकहरू अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट पछि हटेका छन । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएपछि वायुसेवा सञ्चालक आन्दोलनवाट पछि हटेका हुन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बैठकमा वायुसेवा संचालक संघ आज विहान एघार बजेपछि उडान सञ्चालन गर्न सहमत भएका हुन । बिहानसम्मको टिकट बुकिङ बन्द गरेकाले एघार बजेपछि नियमित उडान सुरु गर्ने सहमति भएको हो । प्राधिकरण र वायुसेवा सञ्चालकविच आज पुन वार्ता हुने बताइएको छ ।
वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए । जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे संचालकहरुलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा संचालन अनुमति नै खारेज गर्ने चेतावनी दिएको थियो। ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियोरु। देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो।
त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियोरु। त्यसविरुद्ध बायुसेवा सञ्चालक आन्दोलित भएका थिए ।