
पथरी शनिश्चरे । करदाता सेवा कार्यालयका सम्पूर्ण करसम्बन्धी सेवाहरु पथरी शनिश्चरे नगरपालिकाबाट सुरु भएका छन् ।

नेपाल सरकारको निर्णयअनुसार बिहीबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरे–७ की देवकुमारी कठेतलाई पहिलो व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रदान गर्दै सेवाको उद्घाटन गरे।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशीले सुरुवातमा व्यक्तिगत तथा व्यवसायिक प्यान सेवा सुरु गरिएको र क्रमशः अन्य सेवाहरु पनि विस्तार गरिने जानकारी दिए। अब नगरपालिकाबाटै कर चुक्ता प्रमाणपत्र, विवरण अद्यावधिक लगायतका सेवाहरु उपलब्ध हुनेछन्।
उद्घाटन पछि बोल्दै नगरप्रमुख तुम्बापोले स्थानीय तहमा करदाता सेवा सुचारु हुनु स्वागतयोग्य कदम रहेको बताउँदै , पालिकामा विद्यमान सेवाहरु मध्ये एउटा सेवा थपिएको बताए । यस्ता कार्यालयहरु स्थानीय तहमा आउनु गौरवको विषय रहेको बताए । यस्ता सेवाहरु स्थानीय तहबाट उपलब्ध हुनु सकारात्मक रहेको नगरप्रमुख तुम्बापोको भनाई थियो ।
कार्यक्रममा नगर उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय तहबाट करदाता सेवा सुरु हुनु सकारात्मक रहेको बताएका छन्।