आइतवार बिहानै रुपन्देहीको रोहणी नदीमा यात्रुवाहक बस दुर्घटना भयो । दुर्घटनामा ९ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।
गाडी गन्तव्य आउन तीन किलोमिटर मात्रै बाँकी छँदा दुर्घटना भएको हो । ३३ यात्रु बोकेर जनकपुरबाट भैरहवा आइपुग्नै लाग्दा बस एक्कासि रोहणी नदीको पुलबाट रेलिङ भाँचेर नदीमा खसेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा दुई युवा र एक बालकले भने भाग्यवश आफ्नो ज्यान जोगाउन सफल भए । उनीहरूलाई सामान्य मात्रै चोट लागेको छ ।
बारा सिमराका रोहन चौधरी र धनुषाको हंसपुर नगरपालिका–३ का मुफिद मन्सुरले बसबाट हाम फालेर ज्यान जोगाएका हुन् । बालकको भने नाम खुलेको छैन ।
सबै यात्रु निदाएका बेला उनीहरू भने ब्युँझिएका थिए । बसले आफ्नो लेन छाडेर पुलको रेलिङ भाँच्दै पल्टिँदा उनीहरू बसको सिसा फोडेर बाहिर निस्के ।
‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,’ भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामी दुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं ।’ उनीहरू दुवै जना बसको अन्तिम सिटमा बसेका थिए ।
दुवै जनाको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्केपछि शरीरले काम नगरेजस्तो भयो, अनि नदी छेउको बगरको बालुवामा म, साथी र ती सानो बालक पल्टियौँ । केहीबेरमा प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’ उनले बालकलाई प्रहरीले लगेकाले आफूलाई नाम थाहा नभएको बताए । के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी पनि नभएको उनको भनाइ छ ।
बुटवलको एक ग्यारेजमा काम गर्दै आएका उनीहरू बुटवल आउँदै थिए ।
मन्सुरको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरको पनि हात, खुट्टा र टाउकामा सामान्य चोट लागेको छ ।
पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुवाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ५ जनाको पहिचान खुलेको छ ।