बिराटनगर। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारको गैरजिम्मेवारीका कारण १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि गरिएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री केपी ओलीले सरकार छाड्दाको दिन १०२ रूपैयाँ रहेको पेट्रोल देउवा सरकार बनेपछि १८० रूपैयाँसम्म पुगेको उनले बताए । प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै भट्टराईले स्थानीय चुनावमा जनताले भोट हालेको भोलिपल्टै जनतालाई आहात दिने काम गरेको आरोप लगाएका हुन् ।
‘गत असार २८ मा केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो हिजो घटेपछि १७० पुगेको छ । डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ । १ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ,’ भट्टराईले भने, ‘बजारमा ८४ रूपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ । तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ ।’प्रस्तावको समर्थन गर्दै सांसद यज्ञराज सुनुवारले गैरजिम्मेवारी ढंगले मूल्यवृद्धि गरिएको बारे संसदीय छानविन गर्न माग गरे । प्रस्तावमाथिको छलफलपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले जवाफ दिनेछन् ।