
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशको अन्य समूहबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

मधेस प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेशसभा सदस्य जयनुल राइन रहेका छन् भने समर्थकमा लोसपाकै प्रदेशसभा सदस्य तथा मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी रहेकी छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ। मधेस प्रदेशमा राष्ट्रिय सभाका चार सिटका लागि उम्मेदवारी दर्ता भइरहेको छ, जसअन्तर्गत दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य समूहका सिटहरू छन्।
मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ जना गरी कुल ३७० जना मतदाता रहेका छन्।
ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भइसकेका छन्।
लोसपा र जसपा नेपालबीच १४ पुसमा पार्टी एकता गर्ने निर्णय भएको थियो। एकतापछि जसपा नेपालले ठाकुरलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाएको हो। एकता अघि ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ। १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेले ८ र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ।