
२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा रहेका डा. रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै उनले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राखेर स्वेच्छाले सूचीबाट नाम फिर्ता लिएको बताएका छन्।
‘दलित समुदायको हित र सम्मानलाई प्राथमिकतामा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णयमा पुगेको छु,’ उनले फेसबुकमा लेखेका छन्।
संसद बाहिरैबाट पनि सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘परिवर्तन संसद्को कुर्सीमा बसेर मात्र सम्भव हुन्छ भन्ने मान्यता म राख्दिनँ। सामाजिक चेतनाका विभिन्न मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो।’
रास्वपाको समानुपातिक उम्मेदवार सूचीलाई लिएर सामाजिक सञ्जालमा आलोचना चर्किँदै गएपछि नाम फिर्ता लिनेको संख्या बढ्दै गएको छ।