मोरङको रतुवामाई ९ इटहरामा मदन–आश्रित पार्क निमार्ण हुने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल प्रवाहा–तत्कालिन नेकपा मालेको जन्मस्थल इटहराको डिपु गाँउमा यो ऐतिहासिक पार्क निर्माण गर्न लागिएको हो ।

पार्कको निर्माण मदन–आश्रित फाउन्डेसनले गर्दैछ । पार्क निर्माणका लागि १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैया विनियोजन गरेको छ । बजेट बक्तव्य किताबमा उल्लेखित उक्त रकम निकासाका लागि प्रारम्भिक काम सुरु गरिएको फाउन्डेसनका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले जानकारी दिनुभयो ।

पार्टी स्थापना भएको टेकबहादुर राईको घरलाई केन्द्र बनाएर पार्क निर्माण गरिने उहाँले बताउनु भयो । उहाँका अनुसार उक्त घरलाई पूर्वगत अवस्थामा सकेसम्म दुरुस्त बनाएर पुनःनिर्माण गरिने छ । यसलाई पाँच कठ्ठा जतिको क्षेत्रफलमा सानो कम्पाउन्डिङ गरिने छ । यसको बाहिर पट्टी पार्टी स्थापना स्तम्भ निर्माण गरिने छ । स्तम्भ वरिपरी सम्मेलनमा सहभागी २५ जना प्रतिनिधिको चिनारीसहित प्रतिमा राखिने छ ।

यससँगै पुस्ताकालय, संग्राहलय, सभाहल, बाल उध्यान लगायतका संरचनाहरु निर्माण गरिँदै जाने फाउन्डेसनको योजना रहेको अध्यक्ष कट्टेलले बताउनु भयो । पार्कको सिलन्यास यही २०७६ साल भरीमा हुने उहाँको भनाई छ । पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले पार्कको सिलन्यास गर्ने कार्यक्रम तय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

२०३५ साल पुस ७ देखि ११ गतेसम्म टेकबहादुर राईको घरमा भएको सम्मेलनले नेकपा माले गठन गरेको थियो । २५ जना प्रतिनिधिको सहभागितामा ५ दिनसम्म चलेको सम्मेलनले सिपी मैनालीको नेतृत्वमा उक्त पार्टी गठन गरेको थियो । ११ जनाको केन्द्रिय कमिटिमा ३ सदस्सिय पोलिट्ब्युरो गठन गरिएको थियो । महासचिव मैनालीसहित जीवराज आश्रित र माधव नेपाल पोलिट्ब्युरोमा थिए ।

केन्द्रिय कमिटीमा मदन भण्डारी, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेल लगायतका नेताहरु थिए । त्यस समयमा केपी ओली, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु जेलमा थिए । चिनिँया नेता माओत्से तुङको जन्म दिवस पारेर डिसेम्बर २६ अर्थात पुस ११ गतेका दिन उक्त पार्टीको घोषण गरिएको थियो ।

मदन–आश्रितका नाममा पार्क बन्ने भएपछि स्थानीयबासी खुसी भएका छन् । ढिलै भए पनि कम्युनिष्ट आन्दोलनको एउटा ऐतिहासिक स्थलको संरक्षण हुने भएकोमा आफूलाई ज्यादै खुसी लागेको भन्दै यस कार्यमा सके अनुसारको सहयोग गर्ने स्थानिय बामपन्थी अग्रज सुरेन्द्र कुथुमीले बताउनु भयो । बन्न लागेको पार्कको उत्तरपट्टि रहेको चौबाटोमा मदन भण्डरीको सालिक निर्माण होस् भन्ने इच्छा पनि उहाँले व्यक्त गर्नुभयो ।

ऐतिहासिक पार्क बन्ने भएकाले आफू बसिरहेको जग्गा पनि सस्तो मुल्यमा फाउन्डेसनलाई दिएको टेकबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो “ त्यति बेला पनि आफूले सकेसम्म सहयोग गरेकै हो, अहिले पनि गर्दैछु, भोली पनि गरौँला ।” तर पार्टीले आजसम्म आफूलाई कहिल्यै पनि नखोजेको भन्दै उहाँले दुखेसो गर्नुभयो ।

पार्टी स्थापना स्थल संरक्षण गर्न लागिएको खबर सुन्दा आफूलाई ज्यादै खुसी लागेको २५ जना प्रतिनिधि मध्यका एक माधब पौडेलले बताउन ुभयो । पूर्व ललितपूर जिविस सभापती एवं वर्तमान बाग्मती प्रदेशसभा सदस्य माधब पौडेलले आज बिहान रेडियो सुनाखरीसँगको कुराकानीमा भन्नुभयो, “पार्टी निर्माणको त्यो ऐतिहासिक स्थलको संरक्षणले इतिहासलाई सम्झाइरहने छ । कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन त्यही सममेलनले सबैभन्दा ठुलो योगदान दिएको छ, वैचारिक दिशा निर्देश गरेको छ । ”

कुराकानीका क्रममा सहिद रत्नकुमार बान्तवालाई स्मरण गर्दै सांसद पौडेलले भन्नुभयो, “ सम्मेलन सकिएपछि रत्न कमरेडले सांस्कृतिक कार्यक्रम गरौँ भन्नुभयो । मैले थामी भाषाको गीत गाएँ, उहाँले राई बान्तवा भाषाको गीत गाउँनु भयो । त्यसपछि उहाँसँग कहिल्यै भेट भएन । म त्यो सम्मेलन सम्झने बित्तिकै रत्न कमरेडलाई सम्झिहाल्छु ।”

त्यसैगरी हामीसँगको कुराकानीमा पूर्व मन्त्री तथा सिपी मैनाली नेतृत्वको नेकपा मालेकी स्थायी समिति सदस्य निलम केसी (सिता खड्का) ले पार्टी जन्मथलो संरक्षण हुने भएकोमा प्रसन्नता ब्यत्त गर्नुभयो । कम्युनिष्ट पार्टी आज यो अवस्थामा आइपुग्नुको मुख्य आधार त्यही नेकपा मालेको सम्मेलन भएको उल्लेख गर्दै उहाँले त्यो सम्मेलन स्थलको संरक्षण र विकासका लागि राज्यबाट सहयोग हुनु पर्ने धारण राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!