हिपमत डटकम

शुक्रबार, माघ २८, २०७८ || 1026  पटक पढिएको

मोरङ। सुनवर्षी नगरपालिका–९ भेडुवाथानस्थित बीपी आधारभूत विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको सेप्टिक ट्यांकमा मृत्यु भएको हो । शौचालयको खुल्ला रहेको सेप्टिक टयांकमा खसेर दासको मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

विद्यालय अगाडि चियानास्ताको पसल गर्दै आएकी सन्तोषकी पत्नी जमुनादेवी बिहीबार साँझ ५ बजेतिर विद्यालयको शौचालयमा गएका बेला पछिपछि उनका छोरा पनि गएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी दिपक श्रेष्ठले बताए । जमुनादेवीले छोराको खोजी गर्ने क्रममा उनले लगाएको चप्पल एउटा सेप्टिक ट्यांक बाहिर र अर्को चप्पल सेप्टिक ट्यांकमा देखेपछि होहल्ला गरेकी थिइन् ।

५ फिट गहिरो रिङ हालेर बनाइएको सेप्टिक ट्यांकभित्रबाट स्थानीयले नाबालक खेमलाई अचेत अवस्थामा निकालेर रंगेली अस्पतालमा उपचारका लागि लगेको उनले बताए । उपचारको क्रममा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए ।

सुनवर्षी–९ का वडा अध्यक्ष कमलकिशोर सिंहका अनुसार विद्यालय अगाडि पसल सञ्चालन गर्दै आएका पसलेहरुले विद्यालयकै शौचालय प्रयोग गर्दै आएका थिए । उनीहरुले विद्यालयलाई घेराबेरा गरिएको तारजाली तोडेर शौचालय प्रयोग गर्दै आएको सिंहले बताए ।

विद्यालयमा महिला र पुरुष गरी दुई वटा रहेको शौचालयमध्ये महिला शौचालयको सेप्टिक ट्यांकको ढक्कन खुला रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक सञ्जिव राजवंशीले गत असारमा ढक्कन बनाएर दुवै शौचालयको सेप्टिक ट्यांक छोपेको तर, स्थानीय केही युवाहरुले साउन महिनामा नै महिला शौचालयको सेप्टिक ट्यांकको ढक्कन फुटाइदिएको बताए ।

सेप्टिक ट्यांकमा ढक्कन हाल्ने तयारी गरिरहेकै बेला अप्रिय घटना हुनु दुखद भएको उनको भनाइ छ ।

वडाध्यक्ष सिंहले छ महिनासम्म शौचालयको सेप्टिक ट्यांकमा ढक्कन नहाल्नु विद्यालयको लापरबाही भएको बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!