शुक्रबार, कार्तिक ०५, २०७८ || 406  पटक पढिएको

बिजुली नहुँदा मानिसलाई कत्तिको सास्ती हुुँदो रहेछ भन्ने कुरा यसपालि पनि थाहा भयो । यसअघि पनि बिजुली नहुँदा हामीले सास्ती त व्यहोरेकै हौं । तर त्यतिखेरको सास्ती हामीले बिर्सिसकेका थियौं ।

लोडसेडिङ हुँदा कति सास्ती हुन्थ्यो त्यतिबेला । पछिल्ला केही वर्षदेखि नियमित बिजुली आपूर्ति हुँदा हामीलाई निकै सहज महसूस भएको थियो । त्यही सहज महसूसले हाम्रो बानी बिगारिदिएको थियो । त्यसपछि हामी पूर्णरूपमा विद्युतीय लाइनमा परनिर्भर भएका थियौं । बिजुलीको लाइन बन्द हुँदा पिउने पानी बन्द भयो । सञ्चार सेवा अवरूद्ध भयो । यातायात क्षेत्र पूर्णरूपले सञ्चालन हुन सकेन ।
यसबाट प्रष्ट हुन्छ कि हाम्रो राज्यको संयन्त्र कति फितलो रहेछ । विपद् जोखिम व्यवस्थापनमा हामी कति कमजोर रहेछौं । दुई दिन निरन्तर हावापानी आउँदा हाम्रो कन्तविजोग भयो । हाम्रो संरचना कति फितलो रहेछ । यही सानो घटनाले पुष्टि गरिदिएको छ । नाथे सार्वजनिक उपभोग्य अति आवश्यक वस्तुको व्यवस्थापन गर्न हामी निकै नै असफल भएका छौं ।

बिजुली वितरण केन्द्रमा पानी पसेर समस्या उत्पन्न हुनु पर्ने अवस्था छ । त्यो ठाउँलाई पूरेर उचा बनाउन नसकिने हो र ? बारम्बार दुहवीको विद्युत वितरण केन्द्रमा पानी पसेर समस्या उत्पन्न भइरहन्छ । यसको स्थायी समाधान खोज्नु पर्ने होइन ? सम्बन्धित निकायले यस विषयममा किन हेलचेक्रयाइ गरिरहेको छ । समस्याको समाधान दिन नसक्ने अधिकारीलाई कारबाहीको भागिदार बनाउनु पर्दछ ।
यसपालिको हावापानीले मानवीय क्षति पनि भएको छ । धनसम्पतिको क्षति त छँदैछ । यो प्राकृति प्रकोपमा बल्लतल्ल बाँचेका मानिसलाई जिउन पनि त्यति सहज छैन । किनकि पाकेको वा पाक्न लागेको अन्नबाली खेतबारीबाट उठाउने अवस्था छैन । के खाएर बाँच्ने । जागिर हुनेले त किनेर खालान् । किनेर खाने सामल पनि विदेशबाट आउला । तर निम्न आय भएका किसानहरू ठूलो मर्कामा परेका छन् । उनीहरूलाई राज्यले राहत उपलव्ध गराएर सहयोग गर्नुपर्ने परिस्थिति छ ।

धन्न हाम्रो देशमा समुन्द्री आँधी चाहिं आउन सक्दैन र मात्रै नत्र त हाम्रो कन्तविजोग हुने रहेछ । हाम्रो मौसमसम्बन्धी सूचना दिने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पनि भरपर्दो र विश्वसनीय सूचना प्रवाह गर्ने आधुनिक प्रणालीको विकास गर्न सकेको छैन । विश्वका अरू मुलुकहरूले १५ दिनअघि नै मौसमबारे पूर्वअनुमान गरेर आममानिसलाई जानकारी गराइ ठूलो धनजनको क्षति हुुनबाट जोगाउने गर्दछन् ।
अहिलेको आधुनिक युगमा हरेक मानिसको हातहातमा मोबाइल सुविधा छ । त्यस्तो अवस्थामा मोबाइल एफबाट जानकारी दिन सकिन्छ । मोबाइलमा रिङटोनमै अग्रिम सूचना प्रवाह गर्न सकिन्छ । त्यसो गरियो भने समयमै मौसमसम्बन्धी सूचना प्रवाह हुन पुग्दछ । जसले गर्दा मानिसहरूले आफ्नो सुरक्षामा सजकता अपनाउने समय प्राप्त गर्दछन् ।

यस्तो प्रणालीको विकास गर्न केले रोको छ र ? कि कानूनी रूपमा कुनै वाधा अड्काउ छ ? यदि त्यसो हो भने त्यसलाई परिमार्जन गरेर अघि बढ्नु पर्दछ । यस्तो विषयमा आलटाल गरिनु हुँदैन । जसले आलटाल गरेर विकास विरोधी काम गर्दछ त्यसलाई असक्षम घोषणा गरी कारबाही गर्नु पर्दछ । विभिन्न वहानावाजी गरेर आमनागरिकलाई अनावश्यक दुःख दिन पाइदैन । विपद् जोखिम व्यवस्थापन चुस्तदुरूस्त राखिनु पर्दछ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!