रंगेली, असोज २ – तोडफोड र आगजनीबाट प्रशासकीय भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुचारु गरेको छ।
जेनजी आन्दोलनको नाममा अराजक समूहले रंगेली नगरपालिकाको मुख्य भवनसहित ६, ७, ८ र ९ नं वडामा आगजनी, लुटपाट र तोडफोड गरेपछि सेवा ठप्प भएको थियो। भवनभित्र रहेका कागजात, कम्प्युटर, फर्निचरलगायत सबै सामग्री जलेर नष्ट भएका छन्।
नगरप्रमुख दिलिप बगडिया र प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले नगरवासीलाई सेवाबाट वञ्चित हुन नदिन अस्थायी रूपमा त्रिपाल टाँगेर सेवा सुरु गरिएको बताए।
नगरले अहिले सरसफाइ कार्य तीव्र बनाउँदै पुनर्निर्माण प्रक्रिया थाल्ने तयारी गरिरहेको छ। यसका लागि विशेष नगरसभाले निर्णय गरिसकेको छ।
साथै, नगरप्रशासनले अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई आग्रह गरेको छ।