हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 442  पटक पढिएको

भूमिसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरले दसैंपछि भूसेवा प्रविधि लागु गर्दैछ ।

कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बुधबार पत्रकार सम्मेलन गर्दै भूसेवा प्रविधि लागु गर्ने तयारी अन्तिम चरणमा रहेको बताए । भूसेवा प्रविधि लागु भएपछि जग्गा खरिद बिक्री गर्दा लेखनदासले लामो समय लगाएर पहाडे कागजमा हातले लेख्ने प्रविधिको अन्त हुने र सेवाग्राहीले छिटो छरितो तरिकाले सेवा पाउने प्रमुख भण्डारीले बताए ।

भूसेवा प्रविधिसँगै एकद्वार प्रणाली एवं टोकन प्रणाली मार्फत जग्गाको खरिद बिक्री गर्ने तयारी पुरा भएको प्रमुख भण्डारीले बताए । जग्गा सम्बन्धि सरकारी कागजातमा जग्गाधनीबाहेक बाहिरी व्यक्तिको पहुँच नपुगोस् भन्ने उद्देश्यका साथ एकद्वार प्रणाली एवं टोकन प्रणालीमार्फत जग्गा खरिद बिक्रीको प्रक्रियालाई प्रविधिमैत्री बनाउन लागेको छ ।
०७७÷०७८ मा कार्यालयले १ अर्ब २४ करोड रूपैयाँ राजश्व असुली गरेको छ । देशभरका जिल्लामध्ये भूमिसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरमा जग्गा खरिद बिक्रीको लागि सरकारी मूल्याङ्कन प्रणाली राम्रो रहेकोले राजश्व असुलीमा वृद्धि भएको भण्डारीको तर्क छ । कार्यालयले ०७८÷०७९ देखि जग्गा खरिद बिक्रीको लाग्ने दस्तुरमा २० प्रतिशतले मूल्याङ्कन बढाइएको छ ।

शौचालय विहीन भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले १ अर्ब २४ करोड रूपैयाँ राजश्व असुली गर्दै उत्साहित भएका प्रमुख भण्डारीले विभिन्न दातृ निकायको सहयोगमा १५ लाखभन्दा बढी रकम खर्चेर पुरूष महिलाका लागि बेग्ला बेग्लै शौचालयसहित कार्यालयको अधिकृतको कार्यकक्षमा एसी जडान गर्ने काम भइरहेको छ । कार्यालयमा सरकारी, करार र ज्यालादारी गरी ६० जनाको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

विराटनगर–७ स्थित व्यस्त स्थानमा भूमि सुधार तथा मालपोत कार्यालय छ । कार्यालय नजिकै जिल्ला अदालत, सरकारी वकिल कार्यालय, कोशी अस्पताल, वीरेन्द्र सभागृह, टेलिकम र इको पार्क छ । ठाउँ अभावका कारण सेवाग्राहीलाई सवारी साधन पार्किङ्गमा समस्या रहेकोले र पार्किङ्ग स्थलबाट नै साइकल र मोटरसाइकल हराउने क्रम बढ्न थालेपछि भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरले सुविधा सम्पन्न ठाउँमा प्रविधिमैत्री कार्यालय निर्माण गर्नका लागि मोरङ जिल्ला अदालतसँग जग्गा साटासाट गरेको छ ।

कार्यालयको नाउँमा रहेको ६ कठ्ठा जग्गा मोरङ जिल्ला अदालतको बेग्लै स्थानमा रहेको ५ कठ्ठा जग्गासँग साटासाट गरेको छ । तीन वर्षभित्र भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरले सेवाग्राहीहरूलाई छिटो छरितो सेवा उपलब्ध गराउने गरी प्रविधिमैत्री भवन निर्माण गरिने भण्डारीले बताए । केहि समय अगाडि मात्रै मोरङ मालपोतमा भण्डारीको सरूवा भएको थियो । भण्डारीले कार्यालयलाई हरियालीमैत्री कार्यालय बनाउन वृक्षारोपण गरेका छन् ।

हरियालीमैत्री सँगसँगै स्मार्ट कार्यालय बनाउने गरी भण्डारीले काम गरिरहेका छन् । कार्यालयलाई प्रविधिमैत्री बनाउन मालपोत अधिकृत मिलन दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति बनाइएको छ । समितिले सेवाग्राहीलाई प्रदान गर्ने सेवाको विषयमा कार्ययोजना तयार भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!