काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ । महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरुको भ्रष्टाचार तथा कुशासनविरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न र उनीहरुमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा भनिएको छ ।
साथै आन्दोलनकारीलाई पनि उत्तेजना र मुठभेडतर्फ मोडेर आन्दोलनको गरिमा नगुमाउन आग्रह गरेका छन् । ‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरुलाई आह्वान गर्दछ’, वक्तव्यमा लेखिएको छ ।