हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 636  पटक पढिएको

यतिखेर नेपाली नागरिकका महान् चाडपर्वहरू नजिकिन थालेका छन् । विशेष गरेर हिन्दू धर्मावलम्बीहरूका महान पर्वहरू पहिला आउँदैछन् । यसपालि हिन्दूहरू ठूलो चाड दशैं असोज महिनामा परेको छ । दशैं आउन अब महीना दिन पनि समय छैन । अर्थात, असोजको तेस्रो सातबाट दसैं पर्व सुरू हुन्छ ।

त्यस्तै कात्तिकमा हिन्दूहरूको अर्को दोस्रो ठूलो पर्व तिहार आउँछ । तिहारमा पनि एक हप्तासम्म मनाइन्छ । यी चाडपर्वका लागि मानिसहरूले एक डेढ महीनाअघिदेखि नै विभिन्न सामग्रीहरू किनमेल गर्ने गर्दछन् । त्यसले बजारमा निकै ठूलो जमघट गराउँदछ । आर्थिक गतिविधि पनि तीव्ररूपमा हुने गर्दछ ।

चाडपर्वमा विशेष गरी एक नम्बर प्रदेशको राजधानी विराटनगरमा सामान खरिद बिक्री गर्नेहरूको भीड लाग्ने गर्दछ । व्यापार व्यवसाय पनि निकै नै फस्टाउने गर्दछ । यो समयमा खाद्यान्न सामग्री, लत्ताकपडा, सवारी साधनलगायतको खरिद बिक्री खुब चल्दछ । यस्तो बेला व्यापारीहरूले पनि खुब नाफा कमाउने गर्दछन् ।

नाफा पनि निकै नै हुन्छ । यस्तै बेला हो उपभोत्ताहरू ठगिने पनि । केही व्यापारीहरूले चाडपर्वकै बेला पुराना र बिग्रिसकेका सामानहरू नयाँसरह बिक्री गर्ने गर्दछन् । यसबाट उपभोक्ताहरू मारमा पर्दछन् ।
यही बेला बजारमा खाद्यान्न सामग्रीहरूमा मिसावट गरेर बिक्री गर्ने गरिन्छ । यही बेलामा बजार माफिया र कालोबजारी गर्ने व्यापारीहरू पनि बढी सक्रिय हुने गर्दछन् । पुरानो मितिमाथि नै नयाँ मिति राखेर सामान बिक्री गर्ने गरिन्छ । कतिपय सामानहरू गोदाममा लुकाएर बजारमा कृतिम अभाव सिर्जना गर्ने गरिन्छ ।

त्यसपछि सामानको भाउ बढाएर लुकाइएका सामानहरू बजारमा बिक्री गर्न ल्याइने गरिन्छ । यस्तो क्रियकलापबाट उपभोक्ताहरू नै मर्कामा पर्ने गरेका छन् । विगत वर्षहरूदेखि यस्तो कार्यले निरन्तरता पाएको छ । बजारमा हुने यसखाले कालोबजारी, मिसावट र ठगीलाई नियन्त्रण तथा नियमन गर्न सरकारी निकायको सक्रियता जरूरी हुन्छ । यस्तो सक्रियता चाडपर्व सुरू हुनुअगावै तीव्र रूपमा आरम्भ गरिनु पर्दछ ।

बजारमा किनमेल गर्ने क्रममा उपभोक्ताहरू पनि विशेष सचेत हुनु पर्दछ । उपभोक्ता जागरूक हुन सकेनन् भने सरकारी निकायले मात्र पनि बजारमा हुने विभिन्नखाले विकृति विसंगति नियन्त्रण गर्न मुस्किल हुने गर्दछ ।
त्यतिमात्र नभएर बजार अनुगमन गर्ने कार्यलाई सरोकारवाला निकायले द्रुतरूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । जो अहिले भएको देखिँदैन । उपभोक्तावादी संघसंस्थाहरूले पनि अनुगमन गर्न सरकारी निकायलाई झकझक्याउने तथा खबरदारी गर्ने गर्नु पर्दछ ।

विराटनगरको हकममा महानगरपालिकाले पनि बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने हुन्छ । पछिल्लो समयसम्म आइपुग्दा पनि महानगरपालिकाले बजार अनुगमनलाई त्यति प्राथमिकतामा राखेको देखिँदैन । वडा कार्यालयहरूले पनि आफ्नो वडामा बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति आवश्यक भएको छ ।
जे होस् उपभोक्ता, सरकारी निकाय र उपभोक्तावादी संघसंस्था मिलेर काम गर्न सकेमा बजारमा हुने विभिन्नखाले विकृति विसंगतिहरू क्रमशः न्यूनीकरण भएर जान्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!