मंगलबार, भाद्र २९, २०७८ || 635  पटक पढिएको

माननीय ज्यु, दुई हप्ताअघि तपाईंले केपी ओलीलाई फकाएर, आफ्नो वसमा पारेर मुख्यमन्त्री हुनुभयो । सेरोमोनियल पद प्रदेश प्रमुखलाई समेत विवादमा पारेर, राष्ट्रपतिजस्तै एमालेको नेता भएर निर्णय गराउँदै सपथ खानुभयो । शेरधन राईलाई हठात् राजिनामा गराउन सफल हुनुभयो । तर, बुहमत सिद्ध गर्न पूर्ण रुपले असफल हुनुभएकोछ ।

तपाईंसित विश्वासको मत छैन । हो, तपाईंका कारण जीवन घिमिरे, लीलाबल्लभ घिमिरेलगायतका केही सांसद फर्किए होलान् तर, १० सांसदलाई लाख कोसिस, प्रयत्न गर्दा पनि एमालेमा राख्न सक्नुभएन । तपाईंले बालकोटमा जसरी केपी ओलीलाई जम्मैलाई साथमा राख्छु भनेर घमण्ड देखाउनु भयो त्यसलाई पूरा गर्न पटक्कै सक्नुभएन । अब ओली बाले तपाईंलाई कसोरी विश्वास गर्ने ? एक महिने मन्त्रिमण्डल बनाउँदा तपाईंले केपी बाको कुरै सुन्नुभएन । उहाँले फलानोलाई मन्त्री बनाउनु भन्दा पनि इन्कार गर्नुभयो ।

तपाईंले विश्वासको मत पाउन ४७ सांसदको समर्थन लिनुपर्ने हुन्छ जुन छँदै छैन । हिसाब किताब नै गरौ न । दूधको दूध पानीको पानी छुट्टिने छ । एमालेका ५१ प्रदेश सांसद हुन । यसमध्ये सभामुख प्रदीप भण्डारीलाई विश्वासको मत दिने नदिने मताधिकार सुरक्षित हुन्न । उनी एमालेबाट चुनिए होलान् तर, अहिले सभामुखका रुपमा कांग्रेस, माओवादी, जसपा, राप्रपालगायत सबैका हुन ।

एक महिला सांसद सरकारी किर्तेको आरोपमा फरार छिन् । भनेपछि एमालेबाट विजयी भएका र समानुपातिकसमेत ४९ सांसद मात्र देखिए । यसमा १० सांसद मावकुमार नेपाालको नयाँ पार्टी नेकपा एस मा छन् । निर्वाचन आयोगमै गएर राजेन्द्रै राई, सावित्राकुमारी रेग्मीलगायतले सनाखत गरिसके । भनेपछि अब एमालेमा ३९ सांसद मात्र बाँकी रहे ।

माननीय ज्यु,
अब तपाईंलाई बहुमत सिद्ध गर्न ७ सांसद पुग्दैनन् । कहाँबाट ल्याउनु हुन्छ ? समय त दुई हप्ता पनि बाँकी छैन । यदि तपाईंले बहुमत सिद्ध गर्न सक्नुहुन्थ्यो भने पक्कै पनि ३० दिन कुर्नु हुन्थेन । अहिले लामै रेसको घोडाझैं तपाईं मुख्यमन्त्रीको कुर्सीमा बसेर भटाभट निर्णय फर्माउन थाल्नुभएको छ । के को बलमा निर्णय गर्दै हुनुहुन्छ ?

तपाईंलाई एउटा कुरामा बधाई छ । पर्यटन मन्त्रीबाट हठात् गलहत्याइएपछि प्रदेशमा मुख्यमन्त्री हुने चाहना त छोटै समय भए पनि पूरा भयो । प्रदेशको दोस्रो मुख्यमन्त्रीका रुपमा इतिहास लेखाउन सक्नुभयो । सम्भवतः सर्वाधिक छोटो समयका लागि तपाईं मुख्यमन्त्री हुनुभयो । सपथ लिएको हप्ता दिनभित्रै विश्वासको मत प्राप्त गर्नुपर्नेमा कुर्सीमा टाँसिन तपाईंले ‘ल्याङल्याङ’ गरेकै हो ।

बाटो खोल्नुहोस् अब । कुनै उपाय छैन । तपाईंलाई विपक्षीको हिसाब किताब देखाऔं है । कांग्रेससित २१, माओवादी केन्द्रसित १५, नेकपा एस सित १० र जसपामा ३ सांसद एक ढिक्का छन् । यो संख्या जोड्दा ४९ हुन्छ । सुबिधाजनक बहुमत विपक्षी गठबन्धनसित छ । हो, को मुख्यमन्त्री हुने हो भन्नेबारे निर्णय गर्न हम्मेहम्मे होला तर, यसको निकास निकाल्न धेरै दिन लाग्ने छैन ।

समस्या तपाईं ३० दिनकै रटान गरेर कुर्सीमा सुपर ग्लू टाँसिएझैं बस्नुलाई मानिएको छ । तपाईंलाई थाहा छ अब विश्वासको मत प्राप्त हुन्न । शेरधन राईलाई असफल बनाउन भित्रभित्रै गोटी खेलेझैं होइन विपक्षीलाई परास्त गर्ने रणनीति !

त्यसैले हात उठाएर मैले सकिनँ भनेर मुख्यमन्त्रीबाट राजिनामा गर्नुहोस् । विश्वासको मत प्रक्रियामा जानुभयो भने तपाईं आफै असफल हुनुहुन्छ । यो त घामझैं छर्लङ्ग देखिएको छ । हो, तपाईं मुख्यमन्त्री त्यो बेलामा रहन सक्नुहुन्छ जुन बेला एमाले छाडेर नेकपा एसमा लागेको सनाखत गर्नु हुनेछ ।

राजनीतिमा जे पनि जायज हुन्छ । राजनीतिले कुन बेला कता पल्टी मार्ने हो कसैलाई थाहा हुन्न । अब एउटा उपाय भनेको नै यही बाँकी छ तर, माननीय मुख्यमन्त्री भीम आचार्यले यस्तो कठोर निर्णय गर्नुहुन्छ भन्ने विश्वास छैन । हुन त हिजो पनि माधव नेपालको साथ छाड्ने कठोर निर्णय भीम आचार्यले नै गरेका हुन । आज लेखेको यो कुरा प्रमाणित हुने बाला छ । केही दिन प्रतिक्षा गर्नुहोस् है ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!