हिपमत डटकम

शुक्रबार, भाद्र २५, २०७८ || 766  पटक पढिएको

प्रत्येक पाँच वर्षमा आउने अनि जनतालाई मूर्ख बनाउने खेल हो  चुनाव । हुन त जनताले पाए मध्येका अधिकारमा प्रत्यक्ष उपयोग गर्ने एकमात्र अधिकार हो “मतदान”। नेतालाई जनताको अगाडि झुकाउने एक मात्र अस्त्र हो मतदान । यसको प्रयोग सही तरिकाले उपयोग  गर्न सकिएन भने पाँच वर्ष दुःख निश्चित छ । तपाईको यो अमुल्यू अस्त्र चोर्नका लागि विभिन्न दुतहरू विभिन्न रूप लिएर आउने छन् । एकले अर्काको, एउटा पार्टीले अर्को पार्टीको धज्जी उडाउँने छन् । अब भाइ-भाइ फुट्ने छन्, गाँउमा मनमोटाब बढ्ने छ, चिया पसलमा तत्तातो बहस चल्नेछन् । आरोप प्रत्यारोपको वाण चल्ने छ । कसैले बाटो छेक्ने छन् भने कसैले पानी रोक्ने छन् । त्यहाँ  गरीबको तानातान हुने छन् । अब गरिबका घर आँगनमा  ठूलाबडाहरूको आउजाउ बाक्लो हुने छन् । अब त्यसको मूल्य तोक्ने छन्, डाक बढाबढ हुने छन् । चुनावी पासो बिछ्याउने छन् ।  झुठो आश्वासन बाट्ने छन् अनि एक बोतल रक्सी र दुई चोक्टा मासुमा किन्ने छन् । अनि पछि त्यही गरिबका रगत चुस्ने छन् । यस्तै यस्तै रमिता हेर्ने दिनहरू आउँदै छन् ।

सबै जनता कै साझा अधिकार हो “मतदान”को अधिकार । चुनावी माहोल बन्दै छन् । यस पाली कसैलाई नि भोट दिदिनँ भन्नेहरू मौन बसेका छन् भने गतवर्षको चुनावमा नेतासँग लिएको पैसाले जग्गा किन्ने ठालूहरू यसपाली पनि सम्पत्ति जोहो गर्ने नयाँ नयाँ दाउपेचहरू रच्दैछन् । मासु चिउरामा रमाएकाहरू यसपालि पनि त्यसै गर्नु पर्छ भनि सोच्दैछन् । केही फुचफुचे नेता भनाउँदाहरूले आक्रोश व्यक्त गर्दै यसपाली भोट माग्न आउने नेताहरूलाई यसरी उसरी कुट्छु, यसले कुट्छु उसले कुट्छु भनी दारा किट्दै छन् । हुन पनि जनताले पाएका अधिकार मध्ये मतदानको अधिकारलाई मात्र उपभोग गर्न पाएका छन् ।

यसको उपयोग गलत तरिकाले भयो भने सारा देशबासीहरूले दुःख झेल्नु पर्छ भन्ने कुरामा पहिला पहिला मतदाताहरू बडो सजक थिए तर खोइ कहाँबाट हो, कसरी हो, मानिसको विचारमा चुनावप्रति आक्रोश पैदा भएको छ । चुनावमा जित्ने कोइ, कमाउँछ कोइ, जिते पछि हामीलाई के दिन्छ, जितेर गए पछि यी नेताले हामीलाई चिन्दा नि चिन्दैन । त्यसैले जे लिनु छ, जे खानु छ यही चुनावको बेलामा नै गर्नु पर्छ, लिनु पर्छ जस्ता विचारहरू आम जनतामा पलाएका छन् । अब यसलाई सकारात्मक विचार भनौ कि नकारात्मक । हुन त यी विचार जनतामा पलाउनु स्वभाविक नै हो । यतिका वर्षसम्म आश्वासनको पछि लागियो तर निराशा बाहेक केही मिलेन । अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने यी नेताहरू नेताका नाममा धब्बा नै हुन् । आफ्नो स्वार्थमा पाटी फुटाउने,पद पाउनका लागि पार्टी परिवर्तन गर्ने अर्को शब्दमा भन्नु पर्दा अवसरवादी हुन यी नेता केबल अवसरवादी । आमजनताले कुनै पार्टी प्रति आस्था राखेर आफ्ना नेतालाई त जिताउँलान् तर ती नेता भोलि पद लोलुप्त भएर अर्कै पार्टीमा पो जाने हो कि भन्ने भय समेत आम जनतामा पलाएका छन् । त्यसैले अहिले चुनावको समयमा जे जस्ता विकृति देखिन्छ त्यसको कारण केबल नेता नै हो र नेताको चरित्र । अब जनताले थोरै चलाखी देखाउनु पर्छ । आमजनताले चुनावको बेलामा सबै नेतासँग दारुमासु  मस्त खाने हो, भेटे पछि पैसा नि  लिने हो, तर भोट कसैलाई दिनुहुदैन् तर जनताले आफ्नो मूल्य कुखुराको मुल्य भन्दा  कम तोक्नु भएन नि फेरी ।

एउटा प्रश्न यहाँ नेता इमानदार नभएर जनता बिकाउ भएका छन् कि जनता बिकाउ भएकाले नेता व्यापारी बनेका छन् ? नेताले आफ्नो काम गर्दैन भनेर जनताले भोट बेच्न थाले कि जनताले चुनावको बेलामा धेरै नै खायो भनेर नेताले भ्रष्टाचार गर्न थाले ? यहाँ प्रश्न दुवै पक्षलाई तेर्सेको छ । सबैले त यसो नसोच्लान्,नगर्लान् तर गाँस,बाँस,कपासका लागि पिल्सिएका गरिबको लागि त ती गाँस,बाँस,कपास भन्दा ठूलो अरू के नै हुन सक्छ र । गरिबका लागि अन्नदाताहरू नै देवता हुन्छन् तर चुनावको बेला अन्न,पैसा,कपडा बाट्ने देवता होइन दानव हुन्छन् भन्ने कुरा गरिब जनतालाई कसले सम्झाउँछन्, विचारा उनीहरू ती देवताको खोलमा दानव लुकेको थाहा  पाउदैनन् र आफू बेचिन पुग्छन् । तपाईँले तर्क गर्नुहोला सबै जना बिकाउ हुँदैनन् । अवश्य,तर ती “सबै” भनाउँदाहरू अन्धभक्त चाहि अवश्य हुन् । यहाँ जनता नै को छ र ? सबै जना कुनै न कुनै को, कसै न कसैको कार्यकर्ता हुन् ।

यहाँ पार्टीप्रतिको अदम्य विश्वास नै सबैको ठूलो कमजोरी बनेको छ । किन्न सक्ने जतिलाई किन्छन्, नबिक्नेलाई डराउँछन्, धम्काउँछन् कुनै सीप नलागे त्यस्ता महान् आत्माको भवनासँग खेलवाड गर्छन् । यहाँ कुरा घुमाउरो छ । नेताले आफ्नो कर्तव्य सही तरिकाले पुरा गरेन त्यसैले उसलाई चुनावमा आफ्नो ढिकुटी रित्याउनु पर्छ कि जनताले आफ्नो अधिकारको गलत प्रयोग गरे त्यसैले उसले भने जस्तो नेता पाउन सकेन । यी कर्तव्य र अधिकारको द्वन्द्वबाट नै विकृति पैदा भएको छ । यो विकृतिले आफ्नो जडो जनसमुदायमा गाड्न सफल भएको देखिन्छ । यही विकृतिले गर्दा होला राष्ट्रप्रति बफादार सच्चा नेता चुनावमा न त टिकट पाउँछन्, न त जित्छन् नै ।

अहिले शिक्षा र स्वास्थ्य सेतो व्यापार बने झै राजनीति पनि कालो धन्दा बनिसकेको छ । व्यापारमा लगानी गरेपछि त्यसबाट मुनाफ कमाउने व्यापारी झै चुनावमा लगानी गरी जितेका नेताहरू व्यापारी झै दलाली गरेर लगानी असुल उपर गर्छन् । अहिलेका मात्र होइन पछि आउने नेताहरूले नि यस्तै हुन्छन् । यो मनगढन्ते कुरा होइन सच्चाइ हो । अब को चुनावमा नेताहरुले अग्नि परीक्षा पार गर्नुपर्ने हो तर म मात्र होइन कोइ पनि यो कुरा विश्वस्त छैन किनभने यस पालिको चुनाव पछिल्लो चुनाव भन्दा झन् भड्किलो र खर्चिलो, तनावग्रस्त  हुने छ । अनुहार फरक भए पनि विचार सबैमा एउटै हुन्छ ।

यस पालिको चुनावमा नेताहरू तथा राजनीति पार्टीहरूले कुन किसिमको हत्कन्डा अपनाउँछन् होला । वास्तवमा यी नेताले अपनाउने एउटा सरल फर्मुला हो विपक्षीको विरोध गर्नु, यो पार्टीले केही गरेन, फनाना पार्टीका जनप्रतिनीधिहरू भ्रष्टाचारी हुन् । यसको पालामा कुनै विकास भएन जस्ता चन्द नारा लगाउने छन् र सोझासाझा जनतालाई उल्लू बनाउने छन् ।   नपत्याए पर्खिनुस् र  हेर्दै जानुस् …….

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!