आइतबार, भाद्र २०, २०७८ || 703  पटक पढिएको

विराटनगरस्थित आयल निगमको प्रदेश नं. १ कार्यालय अन्तर्गतको डिपोमा बरौनी र पश्चिम बंगालबाट पेट्रोल, डिजेल र मट्टीतेल दिनहुँ आउने गरेको छ ।

इण्डियन आयल कर्पोरेसनले नेपाललाई नेपाली रूपैयाँमा पेट्रोल ६२ रूपैयाँ ४१ पैसा, डीजल ६३ रूपैयाँ २५ पैसा र मट्टितेल ६० रूपैयाँमा बेच्ने गरेको छ । तर आयल निगमले ल्याउने पेट्रोल, डिजल र मट्टितेलमा नेपाल सरकारले भारी कर लगाउँदै आएको छ ।
नेपाली उपभोक्ताले नेपालमा तिर्ने पेट्रोलियम पदार्थको आधाभन्दा बढी रकम करका रूपमा जाने गरेको छ ।

करका रूपमा पेट्रोलमा सरकारले ५६ रूपैयाँ ३६ पैसा असुल गर्ने गरेको छ भने डिजलमा ३९ रूपैयाँ ३ पैसा असुल गर्ने गरेको छ । मट्टीतेलमा १९ रूपैयाँ २५ पैसा असुल उपर गर्ने गरेको छ । सरकारले उठाउने करमा भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण र प्रदुषण शुल्क, पूर्वाधार विकास खर्च , आयकर र मूल्य अभिवृद्धि कर समेत जोडिएको हुन्छ । सरकारले उठाउने कर बाहेक निगमले पेट्रोलियम पदार्थमा ट्याङ्कर ढुवानी भाडा, व्यवस्थापन खर्च लगायतका खर्च जोडेर बिक्री गर्ने गरेको छ ।

यत्तिका रकम उठाउँदा पनि निगमका प्रदेश नं. १ कार्यालय प्रमुख नकुलप्रसाद भण्डारी भन्छन्, ‘निगम घाटामा छ ।’ निगमले हाल पेट्रोल १३०, डिजेल र मट्टीतेल ११३ रूपैयाँ र एलपी ग्यास १ हजार ४ सय ५० पु¥याएको छ । उनले निगमले पेट्रोलमा ८ रूपैयाँ ४२ पैसा, डिजेलमा २ रूपैयाँ ६४ पैसा र एलपी ग्यासमा ४२० रूपैयाँ ७५ पैसा प्रतिसिलिण्डर घाटा खाएर कारोबार गरिरहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भारतबाट खरिद गर्दाको लागत मूल्य समायोजन गर्न नसक्दा निगम घाटामा गएको भण्डारीको तर्क छ ।

निगमको विराटनगर डिपोबाट कोशी र सगरमाथालाई गरी ३ लाख ५६ हजार लिटर पेट्रोल दैनिक खपत छ । यस्तै ६ सय ६४ लाख लिटर डिजेल र २० हजार लिटर मट्टीतेल खपत भइरहेको निगमका प्रदेश नं. १ प्रमुख भण्डारीले बताए । विराटनगर स्थित निगमको डिपोबाट वर्षातको समयमा पेट्रोलियम पदार्थको खपत घटेर ४५ प्रतिसतसम्म झर्ने गरेको छ ।

वर्षाको समयमा यातायातको आवाजाही कम हुनेहुनाले पेट्रोलियम पदार्थको खपत घट्ने गरेको छ । डिपोमा भएको भण्डारण क्षमता कम हुँदा समेत सकस पर्ने गरेको छ । डिपोको पेट्रोल भण्डारण क्षमता ५ लाख ६० हजार लिटर छ । डिपोबाट ३ लाखभन्दा बढी पेट्रोल प्रदेश नं. १ मा खपत हुने गरेको छ । डिमाण्ड बढेको बेला भण्डारण क्षमता बढी नहुँदा आपूर्तिमा सकस पर्ने गरेको छ ।

भण्डारण अभावमा भारतबाट पेट्रोलियम पदार्थ बोकेर डिपोमा आएका सयौं ट्याङ्करलाई खाली नगरी दुई–तीन दिन निगमको परिसरभित्र र बाहिर सडकमा पार्किङ्ग गरी स्टयाण्ड बाई राख्नु पर्ने बाध्यता छ । अति प्रज्जवनशील पदार्थ भएको हुनाले ट्याङ्करमा लोड गरेर राखीरहनुले पनि जोखिम हुने गरेको छ । भण्डारणको भार कम गर्न मट्टीतेलका भण्डारण टंकीलाई पेट्रोल भण्डारण टंकीमा परिवर्तन गर्ने कार्य जारी छ । सो भएमा थप १५ सय लिटर पेट्रोल भण्डारण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!