लासमा राजनीति ?

वाह, क्या बात !

हिपमत डटकम

सोमबार, भाद्र १४, २०७८ || 739  पटक पढिएको
फ़ाईल तस्बिर

कुरा केही दिनअघिको हो । यो स्तम्भकार आफन्त (नातेदार) बितेर मलामी गएको थियो । सद्गद् गर्ने ठाउँ इटहरी बजारपूर्वको बूढीखोला किनार थियो । जसलाई बूढीगंगा घाट भनिँदोरहेछ । जहाँ प्रणामी धर्म मान्ने मानिसहरूको बढीमात्रामा सद्गद् गरिँदोरहेछ । किनकि त्यहाँ प्रणामी मन्दिरहरू पनि प्रशस्तै थिए । त्यतिबेला बिहान पौने एघार बजेको समय भएको थियो ।

ती मेरो आफन्तको लास त्यहींको पिपलको रूख वरिपरि तीन पन्का घुमाएर त्यही रूखको फेदमा ठाडो पारेर राखियो । एक जना पण्डितले मन्त्र पाठ गरेर विधि पूरा गरिदिए । त्यसपछि लास बोकेर बूढी खोला किनारमा राखियो । मलामीहरू चिता बनाउने दाउरा खोज्न दाउरा भण्डारण कक्षतर्फ लागे ।

त्यही घाटको उत्तरपट्टि दुई वटा अलगअलग चिता तयार गरि सकिएको रहेछ । तर ती दुई चिताका लास त्यहाँ थिएनन् । मलामी पनि त्यहाँ देखिएनन् । ती दुई चितामा एक महिला र अर्को एक जना पुरूषको रहेछ ।

एकछिनपछि ती दुई चिताका लागि दुईवटा लास क्रमिकरूपमा त्यहाँ ल्याइए । मानिसको भीडभाड निकै नै बढ्यो । भीडभाडले कोभीड–१९ को संक्रमण हुने खतरा त्यतिकै थियो । यस्तै तीनचार सय मानिस जम्मा भएका हुँदा हुन् त्यहाँ । टाउकै गनेर त भन्न सकिने स्थिति पनि त थिएन नि ।

त्यो भीडमा मास्क लगाउने मलामीको संख्या आधाउधि मात्रै अनुमान लगाउन सकिने स्थिति थियो । मलाममा आउने कतिपयको मुखाकृतिमा दुखः र भावविह्ल भएको आकलन गर्न सजिलै सकिन्थ्यो नै ।

त्यही भएर नि उनीहरूले स्वास्थ्य सुरक्षाको ख्याल गर्न ध्यान नदिएका हुन् कि भन्ने लाग्यो । तर ती दुखित र भावविह्लबाहेकका अन्य मलामीले भने बेवास्ता गरेकै हुन् भन्न कतिपनि पुष्टि गरिरहनु पर्दैन थियो ।

त्यही बेला यो स्तम्भकारसँग जम्काभेट भयो एक नम्बर प्रदेश सरकारका एकजना मन्त्रीसँग । उनी थिए उद्योग, वन, पर्यटन राज्यमन्त्री राजकुमार ओझा । उनी पुरानो साथी पनि । उनीसँग त्यहाँ रहुञ्जेल लामै गफगाफ भए । उनले स्वास्थ्य सुरक्षा मनग्गै अपनाएको देखिन्थ्यो । उनले सबैलाई दुई हात जोडेर अभिवादन फर्काए । उनको मास्क पनि चश्माले नाकको डाडीसँगै चेपेर सहीसलामत लगाइएको थियो ।
उनीसँग विशेष गरेर पारिवारिक कुराकानी बढी भए । उनी पहिला जस्ता थिए मन्त्री हुँदा नि उस्तै । उनको व्यवहारमा कुनै परिवर्तन थिएन । ठूलो पल्टिने र मन्त्री हुँ भन्ने उनीमा कुनै दम्भको छाँटकाँट कतै देखिएन नै ।

त्यो क्रममा थोरैमात्र राजनीति गफ भए । ठ्याक्कै त मिति तोक्न सकिएन पनि । तथापि उनीसँग भेट नभएको पनि यस्तै पाँचसात वर्ष नै बितिसकेको हुँदो हो । लामो समय भेटघाट नहुँदा केही गन्थनमन्थन हुने नै भए । उनका बडीगार्ड र अरू दुई जना पनि हामीसँगै थिए । हामी त्यहाँको भीड छल्दै नदी किनारतिर हेलियौं । जहाँ हामीबाहेक अरू कोही थिएनन् पनि, सिरिप बूढी गंगामा बग्दै गएको पानीबाहेक ।
मन्त्री ओझाले तपाईँ केमा आउनु भएको भनेर कुरा निकाले । यो स्तम्भकारले सार्वजनिक बसमा भन्ने जवाफ दिए लगत्तै उनले आफूसँग विराटनगर फर्किन सकिने प्रस्ताव राखे । स्तम्भकारले उनको त्यो प्रस्तावलाई सहज स्वीकार ग¥यो पनि ।

एकछिनको प्रतीक्षापछि मेरा ती आफन्तको लास चितास्थलमा चढाउने काम भयो । लास चढाएलगत्तै मानिसको एउटा झुण्ड चितानजिक पुग्यो । त्यहाँ बराम लागेको मानिस चकित भए । के हुन आट्यो भन्ने उनीहरूमा उत्सुकता त्यतिकै जागेको अनुभूत गर्न सकिन्थ्यो ।
एक्कासी एक व्यक्तिले आफ्नो जेबबाट कपडाको रातो टालो झिकेर लासमाथि ओढाए । लासमाथि ओढाएको त्यो टालोतिर उत्सुक्तापूर्व सबैका नजर पुगे । नियालेर हेरेको त त्यो टालो त कुनै अमूक पार्टीको झण्डा पो रहेछ । लासमाथि टालो ओढाएर ती व्यक्ति एकाएक उद्घोषण गर्न पो थाले त ।

ती उद्घोषकले उद्घोषणमात्र आफूलाई सीमित गरेनन् त्यहाँ । उनले त विभिन्न पदको उच्चारण गर्दै एकएक गरेर व्यक्तिहरूलाई आशनग्रहण गराउन पो थाले त । उनको त्यस्तो चर्तिकाला देखेर त्यहाँ उपस्थित मलामीहरू मुखामुख गर्न थालेको मनग्गै दुष्यपान गर्न सकिन्थ्यो ।
तर कसैले केही भन्न सकेनन् । चितास्थल उत्तरपटिका केही व्यक्तिले खासखुस गरेको सुनिन्थ्यो । त्यो खासखुसभित्रको रहस्य के रहेछ भनेर कान तीखो पारेर ध्यानपूर्वक सुनेको त लासमाथि पनि राजनीति ? भन्ने प्रश्न पो उठाउँदै रहेछन् ती मलामी (मनुवा) त ।
‘मानिसहरू पीडामा परेर मात्रै । नत्र त त्यतिबेलै विरोधका स्वरहरू गुञ्जिन बेर लाग्दै थियो । कतिले त विद्रोह गर्न बेर पनि थिएन ।’ एक अपरिचत मलामीको प्रतिक्रिया हो यो ।

उद्घोषकको उर्दी अनुसार आसनग्रहण के सकिएको थियो त्यहाँ त भाषण पो सुरू भो त । त्यो भाषण सुनेर कतिपय मलामीहरू दिक्क मान्दै थिए । कति भोकैप्यासै त्यहाँ उपस्थित भएका थिए होलान् । कतिलाई चाँडै फर्किनु पनि त थियो नि ।
त्यही हतारोका बीच राज्यमन्त्री राजकुमार ओझा पनि थिए । उनी बिहानै हिंडेका एक कप चियाबाहेक उनको मुखमा अन्न परेको रहेनछ । त्यो बेला दिनको साढे एघार बजे नाघिसकेको अवस्था थियो ।

त्यसको ठीक उत्तरपटि अरू दुईवटा लास पनि चितामा राखिंदै थिए । तर ती दुबै चितामा न कुनै रातो टालो ओढाइएको थियो न त चिता वरिपरि मनुवा (मलामी) हरूको खचाखच हुनेगरी भीड नै लागेको थियो । केवल मृतकका नजिकका नातेदार र मन्त्र पाठ गर्ने गुरूमात्र थिए त्यहाँ त ।

त्यहाँ त लास ल्याउनु आधाएक घण्टाअघि नै चिता तयार पारिसकिएको थियो । ता कि मलामीहरूलाई दाउरा बोक्ने सास्ती नहोस् र चिता डढाउने काम पनि चाँडै फत्ते होस् । केही बेरको राजनीति भाषणभुषणपछि यस स्तम्भरकारका आफन्तको चितास्थलको कार्यक्रम पनि सभा बिसर्जन हुन पुग्यो ।

त्यसपछि बल्ल मृतकका नजिकका हकवाला नातेदारले चितामा दागबत्ती दिने पालो पाए । त्यहाँबाट हामी पनि आफ्नो गन्तव्यस्थल विराटनगर लाग्यौं ।

दिपेन न्यौपाने

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!