विराटनगर । आर्थिक अभावका कारण अस्पतालमै अड्किएका विराटनगर–६ निवासी सिंहसर कामतलाई आर्थिक सहयोग जुटाएर डिस्चार्ज गरिएको छ। कामत विगत पाँच दिनदेखि नोबेल अस्पतालमा उपचाररत रहेपनि आवश्यक रकम अभावमा घर फर्कन नसकेका थिए।
सो जानकारी पाउनासाथ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की र विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष हरिश्चन्द्र सहनीले संयुक्त रूपमा २५ हजार रुपैयाँ सहयोग गरेका हुन्।
सहयोगपछि कामतलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको वडाध्यक्ष सहनीले जानकारी दिए। “आर्थिक अवस्था कमजोर भएकाले उहाँ समस्यामा हुनुहुन्थ्यो, हामीले सकेको सहयोग गरेका हौं,” सहनीले भने। पूर्व मुख्यमन्त्री कार्कीले पनि विपन्न नागरिकलाई आवश्यक परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।