उनको नाम एकाएक आयो । सम्भावना देखिएका दुई उद्योगी पछि हटेकाले गोल्डकप फुटबल के गर्ने भनेर अन्योलमा थियो ।
एकातर्फ कोरोनाको महामारी थियो, अर्कोतर्फ ठूलो बजेटको गोल्डकप आयोजना गर्ने हिम्मत कसैले जुटाउन सकेको थिएन । भलै केही इच्छाहरू थिए, कसैको रहर पनि भएको हुनसक्छ तर, इच्छा अनि रहरले मात्र गोल्डकप हुने अवस्था पटक्कै थिएन ।
जुन समयमा फुटबलको बिडो मनोजविक्रमले उचालेका थिए त्यो बेला कोरोना महामारीको दोस्रो भेरियण्ट खतरनाक तरिकाले प्रवेश गर्ने तयारी थालिसकेको थियो । विराटनगरमै पनि हट्टाकट्टा धेरैको ज्यान जान थालिसकेको थियो ।
एउटा यस्तो सशक्त टिम, भावना, एकताको खाँचो थियो त्यो बेलामा जहाँ मनोजविक्रम शाहको नाम आयो । उनी संयोजक भए र, गोल्डकप ऐतिहासिक रूपमा सम्पन्न भयो । उनी आफैमा एक सफल व्यवसायी हुन तर, गोल्डकपका लागि भनेर उनी धेरै उद्योगी र व्यापारीकहाँ पुगे । गोल्डकप सफल बनाउन याचना गरे ।
राजेन्द्र राउतले २ पटक गोल्डकपलाई सफल बनाएका थिए । नवीन रिजालले बाँसको फर्डलाइट बनाएर भए पनि स्पर्धालाई नौलो तरिका दिए । दवावमा परेको प्रदेश र महानगरपालिकाले फर्डलाइट जडान ग¥यो र, मनोजविक्रमले त्यहाँ पहिलो पटक सफल तरिकाले आयोजना गरे । यो आयोजनाले भावी पुस्ताले पक्कै पनि स्मरण गर्ने नै छ ।
हो, सोचे जस्तो आर्थिक लाभ प्राप्त भएन होला, यसमा कमी कमजोरी रह्यो होला तर, मनोजविक्रमले २ महिनासम्म अफिसको काम छाडेर गोल्डकपका लागि खटे । मिहीन कुरामा उनले ध्यान दिए । आयोजनामा कुनै कमजोरी नहोस् भनेर अघि बढे ।
अहोरात्र सक्रियताकै कारण गोल्डकप भब्य तरिकाले सफल पनि भयो । यसमा मनोजविक्रम ‘बोल्ड’ भएरै हो । यदि भीम कुँवर जस्तै कमजोर भएको भए मनोजविक्रम सफल हुन्थेनन् र, गोल्डकप पनि असफल हुने थियो । मनोजविक्रमको नेतृत्वमा भएको गोल्डकप अहिलेसम्मको सर्वाधिक सफल भनेरै गणना गर्दा हुन्छ । यो सफलताको श्रेय उनको नेतृत्व र टिममा काम गर्नेलाई जान्छ ।
संकटपूर्ण अवस्थामा पनि गोल्डकपलाई सरसामानसहित ८ लाखभन्दा बढी मुनाफामा लगेका छन् मनोजले । ८ लाख भन्ने हिसाव कितावमा केही तलमाथि हुनसक्छ तर, करिव करिव यस्तै मुनाफा आएको देखिन्छ । यसबारे आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिने नै छ ।
हो, यो भन्दा बढी नै मुनाफा हुने थियो, प्रदेश सरकारले भनेअनुसार ४० लाख दिएन । १५ लाख कर कट्टी गरेर दियो । विराटनगर महानगरपालिकाले पनि रकम बढाएन । नत्र गोल्डकप कम्तिमा ३० लाख मुनाफामा जाने थियो । यहाँनेर धोका भएकै हो दुई तहका सरकारबाट । राखेपले समेत सहमतिअनुसारको रकम पठाएन । खासगरेर प्रदेश सरकारका तत्कालिन मन्त्री हिक्मत कार्कीले लज्जाबोध गरिसकेका छन् ।
आयोजनाका हिसावले हरेक कुरा सफल हुन्नन् । समस्या देखिन्छ नै । तर, मनोजविक्रम गोल्डकप ट्रष्टको होल टिमलाई साथ लिएर अघि बढेकै हुन । उनमा कुनै लोभ छैन । एक व्यवसायी पनि भएकाले उनलाई कुनै आर्थिक लोभ थिएन । उनले कसैलाई काखा र पाखा गरेनन् । सबैलाई माया दिन खोजे । आफ्नो टिममा रहेर काम गर्नेको चित्त दुखाउन चाहेनन् । यसका लागि उनको पकेट पनि रित्तियो होला ।
मान्छेका स्वार्थ व्यक्तिपिच्छे फरक हुन्छ तर, फरक यी स्वार्थ सामूहिक नहुने हो भने भविष्यमा जसले गोल्डकप आयोजनाको नेतृत्व गर्छ उसले पनि धर पाउने बाला छैन । खेलकुद, समाज र विराटनगरका लागि केही गरौं भन्ने उद्देश्यका साथ आएका निस्वार्थी मनोजविक्रम शाहहरूलाई प्रोत्साहनको खाँचो छ, आलोचनाका लागि आलोचना गर्नु बेग्लै कुरा हो ।
संक्षेपमा भन्ने हो भने मनोजविक्रम शाह एक सफल संयोजक हुन । यस्तै युवाको खाँचो छ विराटनगरका लागि जसले म होइन हामी भन्ने भावनासहित विराटनगरको इतिहासलाई क्रमभंग र असफल हुन दिएन । हार्दिक बधाई भाइ मनोजविक्रम…आलोचना गर्नेको मुख थुनेर सकिन्न । यस्तै असल काम गरेर आलोचकको मुख बन्द गर्दै जानू…जय होस् ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।