प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य आफैले मापदण्ड उल्लंघन गरेका छन् ।
कोरोना महामारीको बेला अनिवार्य मास्क लगाउनु पर्ने नियम उल्लंघन गर्दै आचार्यले गोजीमा राखेको देखिन्छ । सोसल मिडियामा उनको यो तस्वीर भाइरल बनेको छ र, आफै अगुवा, आफै बाटो…भन्ने शब्दको प्रतिक्रिया आएकोछ । हेर्नुहोस् तस्वीर मास्क गोजीमा राखिएको (रातो घेरामा)
‘मुख्यमन्त्रीले समाजलाई नियम सिकाउने हो र, उनका हरेक गतिविधिलाई समाजले नियाँलेको हुन्छ’ बुद्धिजीवी उपेन्द्र यादवले न्यू सृष्टि दैनिकलाई भने, ‘मुख्यमन्त्रीले मास्क गोजीमा राखेर तस्वीर खिचाउनु शोभा दिएन, अहिलेको महामारीमा मापदण्डको पालना यो प्रदेशमा उनैबाट हुने हो ।’
मास्क अनिवार्य प्रयोगबारे सुरक्षा निकाय, प्रशासन, स्थानिय सरकार, सामाजिक विभिन्न संघ–संस्थाहरूले सचेतनामूलक अभियान चलाउँदै आएका छन् । ट्राफिक प्रहरीले त सडकमै अनिवार्य मास्क लगाइदिने गरेको छ ।
‘मुख्यमन्त्रीले सामान्य कुरामा ध्यान नदिंदा आलोचना भएको हो तर, यो सामान्य कुरा होइन’ यादवले भने, ‘यस्ता कुरामा उनले गंभीर बन्नैपर्छ, उनी मुख्यमन्त्री मात्र नभएर पूर्व केन्द्रीय मन्त्री, एमालेका जिम्मेवार केन्द्रीय सचिव भएका व्यक्ति हुन, उनका हरेक गतिविधिलाई सबैले ध्यानपूर्वक हेरेका हुन्छन् ।’
त्यसो त पछिल्लो समय सचेतनाबीच पनि सरकारी ओहदामा बसेका धेरै कर्मचारीहरूले मास्क अनिवार्य प्रयोग नगरेर धज्जी उडाइरहेका छन् । मोरङ प्रशासनले कार्यालयमा प्रवेश गर्दा र कामकाजका क्रममा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन नै दिएको छ । जसलाई धेरैले पालना गरेको देखिन्न ।