कांग्रेस विराटनगर महानगर सभापतिसहित पदाधिकारी, सदस्य चयनमा मतदाता घटेपछि आकांक्षीहरूलाई हाइसन्चो भएको छ ।
तर, आकांक्षीहरूका लागि उनीहरूको समर्थन गर्ने क्षेत्रीय प्रतिनिधि र बुथ सभापति चयनमा भने धेरै खटिनु पर्नेछ ।
अहिले आकांक्षीको ध्यान यसैमा केन्द्रित छ । बुथ र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको नतिजा आउने वित्तिकै कसको पल्ला भारी हुनेछ भन्ने स्पष्ट दृश्य देखिने छ ।
क्षेत्रीय प्रतिनिधि र बुथ सभापतिको नतिजापछि अहिले बजारमा देखिएका केही उम्मेदवार ‘ब्याक’ हुने सम्भावना पनि रहन्छ ।
विराटनगरमा रहेका झण्डै १० हजार क्रियाशिलमाँझ मत माग्नु पर्ने अवस्था नयाँ नियमले अन्त्य गरेको छ र, यसको सबैभन्दा खुसी उम्मेदवारमा देखिएको छ । क्रियाशिलले क्षेत्रीय प्रतिनिधि, बुथ सभापति चयन गर्ने नयाँ प्रावधान आएको छ । यसअघि क्रियाशिलले महानगर सभापतिसहित पदाधिकारी र सदस्यहरूलाई मत दिनु पथ्र्यो ।
यसपटक क्रियाशिल संख्या बढेकाले खासगरेर सभापति, सचिव, उपसभापति, कोषाध्यक्ष र सदस्यका आकांक्षीलाई सबैमाँझ पुग्न हम्मेहम्मे थियो । नयाँ प्रावधानअनुसार अब विराटनगरमा ७ सयभन्दा केही बढी मतदाता हुनेछन् । क्रियाशिलबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले यसपटक महानगर नेतृत्व चयनमा मत दिने छन् । बुथ सभापतिले पनि महानगर निर्वाचनममा मत दिन पाउँछन् ।
महानगर सभापतिका आकांक्षीहरू अरुण न्यौपाने, कृष्ण कार्की, दीपक चापागाईं, सन्तोष न्यौपाने, प्रकाश दाहाल क्षेत्रीय प्रतिनिधिमा आफ्नो समर्थकलाई जिताउने अभियानमा जुटेका छन् । उपसभापतिमा निरज कोइराला, प्रविण जोशी, सचिवमा झुमा निरौला मतदातामाँझ पुगिरहेका छन् । महानगर कार्यसमितिका लागि यसपटक युवा पुस्ताको आकर्षण बढी देखिएको छ ।
‘पक्कै पनि क्रियाशिलको घर–घरमा गएर मत माग्नुपर्ने अवस्था थियो, १० हजार चानचुन क्रियाशिल कहाँ पुगेर मत माग्नु धेरै गाह्रो काम थियो किनभने समय कम भएकाले सबैमाँझ पुग्न सकिन्नथ्यो’ सभापतिका एक आकांक्षीले न्यू सृष्टि दैनिकलाई भने, ‘क्षेत्रीय प्रतिनिधि र बुथको निर्वाचन सकिएको १० दिन समय बाँकी हुन्छ, यो अवधिमा ७ सयभन्दा केही बढी मतदाता कहाँ पुग्न सहज नै होला ।’
कांग्रेसको महानगर राजनीतिमा सबैभन्दा बढी केन्द्र विन्दु विराटनगर–३ देखिएको छ । यो वडाबाट कम्तिमा सय जना क्षेत्रीय प्रतिनिधि र बुथ सभापति चयन हुनेछन् । यो वडा क्षेत्र नं. ४ को स्थानिय तहतर्फ सबैभन्दा बढी मतदाता भएको वडा पनि हो । यो वडामा १५ हजारभन्दा बढी मतदाता छन् । कांग्रेस क्रियाशिल सदस्यको संख्या मात्र झण्डै एक हजार पुगेको छ । यो वडामा आसन्न कांग्रेस निर्वाचनका लागि सत्रुघन पौडेल, राजन पोखरेल, सन्तोष अधिकारीलगायत आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।