मंगलबार, भाद्र ०१, २०७८ || 648  पटक पढिएको

जिल्ला प्रशासन कार्यालयले विराटनगरको सीमान्त रानी नाका ससर्त खुल्ला गर्ने निर्णय भयो । निर्णयले सीमापारीका व्यापारी र व्यवसायी खुबै खुसी भए । आतिसवाजी गरे भने मज्जाले कारोबार गर्न पाइयो भनेर केहिले त सीमाना खुल्ला भएको रात सितन चपाउँदै सोमरसमा पौडी खेल्न भ्याए ।

विराटनगरका व्यापारी र व्यवसायी भने छातीमा ढुंगो बजारिए झैं दुःखी बने । सीमाना खुल्ला गरिएको भोलीपल्ट मलाई एक विराटनगरका स्थानिय पसलले फोन गरे । उनीसँगको वार्तालाप ओजपूर्ण थिएन । वार्तालापमा गुनासा भरिएका थिए । पसलेको क्रन्दन थियो, वेदना थियो । मानौ विराटनगरका ती पसलेलाई ज्वालामुखीको तातो झोलमा उभ्याइएको छ ।

फोनमा पसले कारोबार आधा घटेकोमा चिन्तित बने । सीमानाका बन्द हुँदा खचाखच भरिने पसलमा ग्राहक शुन्य बनेको खबर मलाई फोन गरेर सुनाए । राज्यले स्थानिय बजार सम्पूर्ण चलायमान गराउने विधि आवलम्बन नगरी चाडवाडको मौकामा सीमानाका खुल्ला गरेर स्थानिय व्यापारीको घाँटी थिच्ने काम गरेको ति पसलेको रोदन थियो ।

कुरा त मनासिबै लाग्यो मलाई । स्थानिय बजार चलायमान बन्यो भनेमात्र देशको अर्थतन्त्र मजबूत रहन्छ । परनिर्भरताले त देशको अर्थतन्त्रमा मजबूत बन्न सक्दैन । अन्तर्राष्ट्रिय सीमाना खोलियो । खोलिनुपनि पर्छ । तर कस्तो समयमा सीमाना खोलियो यो पनि ख्याल गर्नु पर्ने विषय हुन सक्छ । कोरोना संक्रमण घटेको छैन । डेल्टा–३ को चर्चा सेलाएको छैन ।

भारतसँगको सीमानाका खोलिँदा हजारौ मानिसको आवतजावत स्वतः हुन्छ । यो कसैले रोकेर रोकिन्न । सीमानाका खुल्ला भएकै कारणले सीमा बन्द हुँदा रोकिएका कोरोना संक्रमित नेपाल प्रवेश गर्लान भनेर भन्न सकिने स्थिति छैन । यस्तै नेपाली चेलीबेटीहरूमा जोगबनी बजारको अत्याधिक मोह रहेको छ । तीज पनि नजिकिँदै गएको छ । जोगबनी जानका लागि सीमानाका खुल्नु त उनीहरूका लागि उपहार सरह भएको छ ।
जोगबनी सधैं भीड हुने बजार हो । जोगबनी बजार नेपालको बोर्डर भएर होला वा सरकारी बेवास्ताका कारण जति विकास हुनुपर्ने हो त्यति भएको छैन । घरीघरी त जोगबनीवासीमा अझै चेतनशील बन्न नसकेको हो की जस्तो लाग्छ । जोगबनीका कुनै पसलले स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डको पालना गरेका छैनन् । जोगबनीका अधिकांशको मुखमा मास्क पनि विरलै देखिन्छ ।

विराटनगर र मोफसलबाट जोगबनी जाने सर्वसाधारणहरू भीडमा मिसिएर घण्टौ लाइनमा लागेर सामान किन्ने गरेका छन् । भीडमा को संक्रमित को असंक्रमित कुनै थाह हुँदैन । जोगबनी गएर कतिपय नेपालीले कोरोनाको संक्रमण बोकेर ल्याउने छैनन् भन्ने कुनै ग्यारेन्टी छैन । जोगबनीका कारणले विराटनगरमा कोरोना संक्रमित र मृत्युदरमा ह्वात्तै वृद्धि भयो भने कसले जिम्मेवारी लिने यो प्रश्न पनि यक्ष छ ।

मालसामानहरू आइसीपीबाट आइनै रहेका थिए । प्रशासनलाई स्थानिय बजारभन्दा भारतको जोगबनी बजारको चिन्ता बढी थियो जस्तो लाग्यो । डेढ वर्ष सीमानाका बन्द गरेर पनि चलेकै त थियो । सीमानाका बन्द भएकै कारण कहिँकतै त्यस्तो बवण्डर मच्चिएको जस्तो त थिएन । चाडपर्व नजिकिँदै गर्दा स्थानिय व्यापार बढ्ने शुभ संकेत देखिएको थियो ।

चाडपर्व सिद्धिन्थ्यो, कोरोनाको अवस्था हेरिन्थ्यो अनि सीमानाका खोल्न की नखोल्ने बारे व्यापक विश्लेषण गरेर निर्णय लिँदा शुभकर हुने थियो । तर चाडवाडको मुखैमा कुन त्यस्तो अदृष्य शक्ति चलायमान भयो जसले प्रशासनलाई बन्द भएको रानी सीमानाका खोल्न बाध्य पा¥यो । वा कुनै त्यस्तो विशेष अफर आयो कि भगवान जानुन् ।

तर सीमानाका खोलेर जोगबनी बजारलाई गुलजार बनाउन सहयोग गर्नेले स्थानिय बजारलाई समेत चलायमान बनाउनका लागि केहि सर्पोट र भिजन लिएर आएको भए विचरा ती स्थानिय पसलेले मलाई फोन गरेर क्रन्दन गर्ने थिएनन् होलान् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!