दिपेन न्यौपाने
यो स्तम्भरकारले न्यू सृष्टि राष्ट्रिय दैनिक पत्रिकामा लेखन सामग्री सम्पादन गरेको पनि पत्तै नपाइ एक वर्ष एक महीना बितिसके छ । त्यसअघि उद्घोष दैनिक अनि दर्शन दैनिक, विराटपथ दैनिक, दृष्टान्त साप्ताहिक, आस्कमी साप्ताहिक लगायतका पत्रपत्रिकाहरूमा प्रुफ रिडिङ एवम् सम्पादनको जिम्मेवारी निभाउने अवसर पारगरिसके कै हो ।
राष्ट्रिय स्तरका नेपाल समाचारपत्र दैनिक, प्रतिपक्ष साप्ताहिक, दृष्टि साप्ताहिक, सूर्यदय साप्ताहिक, सूर्य मासिक, एक्काइसौं शताब्दीलगायतका पत्रपत्रिकामा पनि काम गर्ने अवसर नमिलेको होइन । त्यस्तै इन्सेक अनलाइन र नेपाल मानवअधिकार वर्षपुस्तकलगायतका सामग्री लेखन तथा सम्पादनको काम नगरेको पनि होइन ।
यसरी अनलाइन र अखबारहरूमा काम गर्दाको अनुभवहरू यो स्तम्भकारले यसपटक यहाँ पस्किने कोशिश गरेको छु । त्यही अनुभवबाट खारिएको अनुभूतिलाई यहाँहरूसमक्ष बाड्ने अनुमति मागेको मात्र हो । यसलाई कसैले पनि अन्यथा लिनु हुने छैन भन्ने विश्वास छु ।
तथापि पत्रपत्रिकामा केवल समाचार मात्रै सम्पादन गरेर हुने कुरा पनि त भएन नि । लेखहरू पनि हेर्नै प¥यो । कविता, कथाकुथुंग्री, गजल, हाइकु, मुक्तक, कृति समीक्षा पनि त उत्तिकै हेर्नु पर्छ नि ।
लेख, कथा, कविता, गजल, मुक्तक लेख्ने विभिन्न व्यक्तिहरू हुन्छन् । ती सबै व्यक्तिहरू अहिलेको आधुनिक प्रविधिसित पोख्त छैनन् । तथापि उनीहरूले प्रेषित गरेका सबै सामग्री आधुनिक प्रविधिको प्रयोग गरेर मेलमार्फत नै आउने गरेका छन् ।
ती सामग्री केही गतिला हुन्छन् त केही अगतिला पनि । तथापि ती सबै सामग्री एकपटक सम्पादनको नाङ्लोमा हाले केलाउनै प¥यो, निफन्नै प¥यो । त्यसका लागि पत्रकार पनि दक्ष र पढेलेखेको हुनै प¥यो । पत्रकारहरू पनि आधुनिक प्रविधिमा दक्ष त हुनै प¥यो ।
भन्नु उसो होइन, पछिल्लो चरणमा पनि पत्रपत्रिकामा छाप्ने सामग्री पठाउने केही व्यक्तिहरू प्रचारका भोगी मात्रै पनि छन् । कोही कोही त वुद्धि र ज्ञानका खानी पनि छन् । कोही भने सामान्य नेपाली भाषाको ज्ञान नभएका पनि छन् । जसको मातृभाषा नेपाली नै हो र पनि ।
कतिपयलाई गाउँघरमा बोलिने शब्द र अखबार वा किताबमा छापिने शब्दको फरकबारे कत्ति पनि ज्ञान छैन । त्यस्ताहरू पनि अनाहकमै लेख्न तम्सिएको देखेर अचम्म लाग्छ ।
आफूलाई साहित्यकारको उपल्लो तहमा पुगेका व्यक्तिहरूले पनि शुद्धसँग नलेखेको देख्दा विचरा भन्न मन लाग्छ । कतिपयले त कनिकुथी जबर्जस्ती शब्द चयन गर्न कोशिश नगरेका पनि होइनन् । तर तिनको लेखन सीप पटक्कै छैन ।
उनीहरूले लेखेको सामग्री हेरेर कहिलेकांही त झोक चलेर पनि आउँछ । बराविचराहरू लेख्न त लेख्छन् तर कहिलै किताब पढ्दैनन् कि क्या हो भन्ने लाग्छ । उनीहरूले लेखिसकेर एक खदुईपटक पढ्ने हो भने धेरै शुद्ध हुने थियो कि भन्ने लाग्छ ।
नेपाली मातृभाषी भएर पनि जसलाई नेपाली शब्द शुद्धसँग लेख्न आउँदैन भने उसले कयौं वर्षदेखि लेखेकोे व्यर्थ ठहर्छ । नियमित स्तम्भ लेख्नेहरूले अरूले लेखेको लेख रचनाहरूपनि पढ्नु पर्दछ भन्ने मान्यता राखेको पाइँदैन । लेखक सधैं अपडेट हुनै पर्दछ । लम्बेतान बाक्य गठनभन्दा नि छोटाछरिता बाक्य चयन नै उपयुक्त मानिन्छन् ।
अरू धेरै पढ्न नसके पनि शरदचन्द वस्तीको नेपाली कसरी शुद्ध लेख्ने भन्ने पुस्तक किनेर पढेमा आफ्नो शुद्ध नेपाली शब्द लेख्ने बानीको विकास हुने थियो कि भन्ने सुझाव दिन मन लाग्यो । यो काम केवल लेखकले मात्र होइन पत्रकारले पनि गर्नु एकदम जरूरी छ ।
लेखन कार्य केवल रहरको विषयवस्तुमात्र नबनाऊँ । यसो गरेमा आफ्नो लेख ओजपूर्ण नभई हल्का हुनेछ । यस्तो लेख एकपटक पाठकले पढेर मात्र हुँदैन । लेखकका हरेक लेख पाठकले पढौंपढौं लाग्ने खालको मिठासपूर्ण भाषाशैली हुनु अनिवार्य छ ।
लेखहरूमा लेखकले पाँडे गालीगलौज गरेका छन् भने त्यस्तो लेख अधिकांश पाठकले रूचाउँदैनन् । लेखमा कसै व्यक्तिको अधिक प्रशंसा वा विरोध पनि त्यति रूचिकर मानिदैन । कतिपय लेख त सकारात्मक प्रकृतिका र मनोरञ्जनपूर्ण पनि हुन्छन् ।
राजनीतिक लेखहरूमा अलि बढी पाँडे गालीगलौज गरिएका र आग्रह पूवर्वाग्रहले ग्रसित शब्दहरू प्रयोग गरेको पाइन्छ । गालीगलौज नै गरेको भए नि साहित्यिक लेख केही रसिक हुन्छ । तर त्यसमा अशुद्धिपन बिछट्टै छ भने त्यो पनि रूचिकर मानिदैन ।
केही लेखकहरूलाई छोडेर धेरैले तथ्यतथ्याङ्क नहाली मनगडन्ते र भद्दा कुराहरू पस्किने गरेका छन् । जुन कुरा तथ्यतथ्याङ्कसँग कत्तिपनि मेल खाँदैनन् । कतिपय व्यक्तिबाट समसामयिक विषयमा गरिएका टीकाटिप्पणीहरूलाई हुबहु उतारेर पनि लेख लेखिएका हुन्छन् ।
परम्परागत शैलीमा लेखिएका अपडेट पनि नभएका लेखहरू पनि लेखिने गरेका छन् । केवल अखबारमा आफ्नो नाम प्रकाशन गर्ने हेतुले लेखिने यस्ता लेखहरू केवल विज्ञापनका भोकाहरूका लागि मात्र हो । यस्ता लेखबाट पाठकले केही पनि ज्ञान एवम् लाभ हाँसिल गर्न सक्दैन । न त समाजले नै सक्छ ।
त्यसैले लेखन सामग्रीका बारेमा रहर गरेर मात्र हुँदैन । लेखक स्वयम्मा ज्ञानको भण्डार हुनु जरूरी हुन्छ । शब्द भण्डारको प्रर्याप्त ज्ञान भएको हुनु पर्दछ । लारेलुरे पाराले झारा टार्ने हो भने बेग्दै कुरा हो । झारा टार्ने त्यस्ता लेख कसैले पनि प्रकाशन नगरेकै राम्रो ।
अहिलेको जमानामा पट्यार लाग्दा लामालामा लेख कसैले पढ्नेवाला पनि छैन । आफ्नो लेख धेरैले पढुन् भन्ने लाग्छ भने लेख सरल भाषामा छोटोमीठो लेख्नु नै उचित हुन्छ । पत्रपत्रिकामा प्रकाशन गर्ने हो भने हजारदेखि बढीमा पन्ध्र सय शब्दको भए ठीक हुन्छ । तर त्यस लेखमा वाक्य गठन पनि मिलेको हुनु पर्दछ ।
अझ आफूलाई साहित्यका मसिया ठान्नेहरूले पनि लेखनलाई परिमार्जन गर्न जरूरी हुन्छ । कृपया यसो भन्दाखेरी नरिसाउनु होला । साच्चिकै भन्ने हो भने अखबारलाई तुच्छ र हेय किसिमले हेर्ने प्रवृत्तिको सोच भएकाहरूले झारा टार्ने पाराले सामग्री लेखेर पठाउँने गरेका पनि छन् ।
यसले लेखकको स्तर कस्तो छ भन्ने सजिलै मापन हुन्छ । त्यस्ता लेखहरू सबै अखबारले प्रकाशन गर्न पनि उचित ठान्दैनन् र छाप्दैनन् पनि । किनकि यस किसिमका गए गुज्रिएका लेखन सामग्रीहरूबाट अखबारको स्तर पनि माथि उठ्न कदापि सक्दैन ।
तसर्थ, लेखन सामग्री पठाउँदा आफ्नो मात्र होइन समाजको पनि कल्याण हुने हिसाबले पठाएको राम्रो हो । जुन लेखन सामग्रीमा ज्ञानको भण्डार होस् । नयाँ वा नवीनतम विषयवस्तुको बारेमा खोज अनुसन्धानबाट प्रमाणित भएका तथ्यतथ्याङ्क समेटिएको होस् ।
तबमात्र पाठकलाई पनि लेख तथा लेखन सामग्रीपट्टि रूचि बढेर जान्छ । अनि उनीहरूले सो लेखन सामग्रीका बारेमा क्रियाप्रतिक्रियाहरू जनाउँछन् । प्रतिक्रियाविहीन लेखन सामग्रीको कुनै औचित्य नै हुँदैन ।
किनकि तपाईँको लेखनबारे कसैले केही भनेन भने त्यसको के अर्थ रह्यो र । तपाईँले आफ्नो लेखन सामग्रीमा परिमार्जन वा सुधार गर्नुपर्ने पक्षको बारेमा तपाईँ सधैं अनविज्ञ हुनु भयो भने त्यसको पनि कुनै अर्थ रहेन ।
कतिपय लेखकहरू यस्ता पनि भेटिएका छन् कि आफ्नो लेखन सामग्रीमा आफ्नै प्रशंसा गरेका पनि हुन्छन् । कतिपयले त फेद न टुप्पो भेउ नपाउने गरी लेखन सामग्री पस्किएका पनि हुन्छन् ।
कतिपयले त धर्म, जाति र समुदायलाई होच्याउने गरी लेखन सामग्री पस्किएका हुन्छन् । कसैका लेखमा अरूप्रति घृणा र द्वस फैलाउने मनसाय पोखिएका हुन्छन् । यसखाले लेखन सामग्री पनि प्रकाशयोग्य ठहरिदैनन् ।
यसरी बेढंगे पाराले लेखन गर्ने हो भने सम्पादन गर्नेले पनि उचित ध्यान दिन मन गर्दैन । तसर्थ, लेख्ने हो भने शुद्ध र ज्ञानवद्र्धक हुने खालका सामग्री लेखौं ।
नत्र अनावश्यक गन्थन पस्किएर अखबारका पानाहरू फोहोर नपार्नु नै उचित हुन्छ । जुन कुरा कसैले पढ्दैन भने तपाइँ किन बारम्बार लेखिरहनु हुन्छ । बेकारमा तपाईँको समयको मात्र बर्वादी हुन्छ । लेखन शिलशिलेवर, सरल र क्रमवद्ध पो हुनुपर्ने हो नि । शुद्ध लेख्नु भाषाप्रतिको उचित सम्मान र विकासमा टेवा पनि हो ।
यो लेख न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।