शुक्रबार, साउन २२, २०७८ || 1439  पटक पढिएको

इतिहासमै अनुशासन संकटमा परेको समय हो यो हाम्रा लागि । अनुशासन भएन भने घर, समाज, देश बर्बाद हुन्छ । अनुशासन कानुनभन्दा महत्वपूर्ण कुरा हो, जहाँ अनुशासन उल्लंघन हुन्छ त्यो समाजलाई अर्कै ढंगले हेरिन्छ । अनुशासनहीन समाजमा सकारात्मकता खोज्नु मुर्खता हुनेछ । अनुशासन बेगरको समाजले कहिल्यै असल काम गर्न सक्दैन । आफु पन िबदलिदैन अनि अरूलाई पनि बदल्न सक्दैन ।
आज समाजका हरेक क्षेत्रमा अनुशासन संकटग्रस्त अवस्थामा छ । अरूप्रति आदर भाव, सम्मान पटक्कै छैन । निर्णय विरुद्ध उभिने, कानुन पालना नगर्ने र नियमलाई पटक्कै फलो नगर्ने संस्कार विकास भएको छ । यसैलाई भनिन्छ अनुशासनहीनता ।

यहाँ सरकार अनुशासनमा छैन । सरकारी सेवाहरू अनुशासनमा छैनन् । नियमहरू अनुशासित हुन सकेका छैनन् । सिद्धान्तले गोबर खाएको समय हो यो । नियम पालनामा कालो धब्बा लागेको समय हो यो । व्यक्ति अनुशासनमा छैनन् । जसले जे गर्दा पनि हुन्छ । होइन, यही हो लोकतन्त्रको अर्थ ? अनुशासनमा नबस्नु नै लोकतन्त्रको अर्थ हो ?
यहाँ हेलमेट अरूका लागि लगाउनुपर्छ । मास्क देखाउन लगाउनुपर्छ । हेलमेट नलगाएर दुर्घटना भयो भने उल्टै ट्राफिकले के हेरेको थियो भनिन्छ । कोरोना संक्रमण भयो भने उस्तै गुनासो आउँछ । आफु अनुशासनमा नबस्ने अनि गल्ती अरूलाई थोपर्ने संस्कार अनुशासनको घेरामा पर्दैन ।

अनुशासन भनेको अग्रजलाई सम्मान गर्ने हो । आफुभन्दा उमेरले पाकाको कुरा सुन्ने हो । जानेको केही छैन तर, नजानेको केही होइन भन्ने शैलीले तर्क राख्नु अनुशासन होइन । अनुशासन भनेको नियम पालना हो । कानुन अक्षरशः पालना गर्नु अनुशासन हो ।
हामीले आम रूपमा अनुशासनको उल्लंघन गर्दै आफुलाई उच्च कोटीमा राख्न थालेका छौं । हो, यो समय विग्रिएको हो । अनुशासनमा कालो धब्बा लागेको हो । हामीले नेपालमा अति गर्न थालेका छौं । नेपालदेखि डराउन थालेका छौं । यहाँको नियम उल्लंघन गर्नु बहादूरी सम्झनेको कमी छैन । तर, हामी जब विदेश जान्छौ अनि त्यहाँ नियम देखेर मुख कालो बनाउँछौ ।

चकलेट खाएर हामी खोल सडकमा फाल्छौ । सार्वजनिक स्थान जहाँ वर्जित गरिएको छ त्यहाँ सिगरेटको धुवा उडाउन हामी लाज मान्दैनौ । तर, विकशित देश, खाडीमै भए पनि नियम कडा भएको देख्दा सुन्दा आफैले आफैलाई धिक्कारछौ ।

जबसम्म अनुशासनलाई व्यक्ति–व्यक्तिले आत्मसाथ गर्दैन तबसम्म यसको धज्जी उड्छ नै । हामीलाई अनुशासनहीन बनाउन सूचना र प्रविधिको छाडा प्रयोगले पनि सिकाएको छ । मोबाइल झिक्नुस् अनि जे पायो त्यही पोष्ट गर्नुहोस् । के लेख्दा हुन्छ, के लेख्नुहुन्न हेक्का राख्दैनौ । हामी विकास चाहन्छौ र सडक, पुल बनेपछि त्यसको संरक्षण गर्दैनौ । यो पनि एकप्रकारको अनुशासनहीनता नै हो ।
कुनै पनि ठाउँ कति अनुशासित छ भनेर त्यहाँको अवस्थाले चित्रण गर्छ । त्यहाँको समाज नियमप्रति कति धेरै प्रतिवद्ध छ भन्ने कुराले देखाउँछ । जहाँ नियम, कानुन र असल कुरालाई तिलाञ्जली दिइन्छ त्यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।

एउटा यथार्थ कुरा राखौं । केही युवा विराटनगरबाट धरान पुग्छन् । उनीहरू त्यहाँको एक चोकमा राखिएको चटपटे खान्छन् । चटपटे खाएर कागज सडकमा फाल्छन् । अनि त्यो देखेर त्यहाँकी एक बूढी आमैले भन्छिन, ‘बाबुहरू विराटनगरबाट आउनु भएको ?’ युवाहरू आश्चर्यचकित हुन्छन् । अनि एक युवाले प्रश्न गर्छन, ‘कसोरी थाहा पाउनु भो बजू ?’
बूढी आमै भन्छिन, ‘सडकमा कागज फालेको देखेर ।’

अनुशासन अरुका लागि होइन आफ्ना लागि हो । नियमको पालना प्रशासन वा सरकारका लागि होइन आफ्नै लागि हो । मास्क अनिवार्य लगाउनु तपाईंका लागि हो, अरूका लागि होइन ।

त्यसैले व्यक्ति, समाज अनुशासनमा बस्नुपर्ने परम् आवश्यकता छ । अनुशासनमा बसेर हेर्नुहोस अनि समाज बदल्नका लागि धेरै मेहनत नै गर्नु पर्दैन । आजैदेखि अनुशासनको पालनातर्फ आफुलाई अघि बढाऔं । प्रयास त गरि हेरौ एकपटक ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!