हिपमत डटकम

शनिबार, साउन १८, २०८२ || 617  पटक पढिएको

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् ।ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौँतारिरहेका छन् ।

शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुर्सानीको व्यावसायिक खेती भएको छ ।

“गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु”, उनले भने, “स्थानीय बजार सानो छ । खपत थोरै हुन्छ । धेरै खपत हुने ठुला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।”

यस क्षेत्रमा यसअघि व्यावसायिक अकबरे खुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबर खुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ । आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ ।

स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैँसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन् ।

खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतात्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए ।

स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो रु २५० देखि रु ३०० छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौँका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए । खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!