कांग्रेस पार्टीमा सबै नेता छन् कार्यकर्ता कोही छैनन् भन्दा पनि हुन्छ । कार्यकर्ता भन्दा अपमान बोध हुने हो कि क्या हो ? युवादेखि वृद्धसम्म आफुलाई नेता मात्र भन्न रूचाउँछन् । कार्यकर्ता त कसैले भन्दैन ।
युवा नेता, महिला नेतृ, मजदुर नेता, शिक्षक नेता, पत्रकार नेता, अग्रज नेता । नेतै नेताले भरिएको छ कांग्रेस । कार्यकर्ता हुन कोही तयार नै छैन भन्या ! कार्यकर्ता शब्द त तल्लो स्तरको मानिन थालेको छ । नेता भनेपछि उच्च सम्मान हुने ठानिन्छ ।
सबैलाई आसन्न चुनावमा कुनै न कुनै पदमा उठ्नु परेको छ । सबैलाई पद चाहिएको छ । कसैलाई क्षेत्रीय प्रतिनिधि चाहिएको छ । बुथ सभापति, नगर सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, सदस्य, आरक्षण कोटाका विभिन्न पदहरूमा हानथाप सुरू भएको छ ।
सजिलो छ प्रचारका लागि अहिले । सोसल मिडिया र विभिन्न ग्रुपमा उम्मेदवारी घोषणा ग¥यो अनि चहलपहल थाल्यो । मैले उम्मेदवारी घोषणा गरेको ६ सय कमेण्ट आयो, ८ सय लाइक भयो, भनेपछि मैले चुनाव त जितिसके भन्ने ठानिन्छ । अन्तर पार्टी त के बहु पार्टी चुनावमा समेत एक असल मतदाताले कुनै पनि दलबाट खडा भएको उम्मेदवारलाई मत दिन्न भनेर भन्न सक्दैनन् ।
विगतमा यस्तो थिएन कांग्रेस ।
कोही भन्दा कोही कम छैनन् । सबैले आफुलाई ठूलो ठान्ने गलत संस्कार विकास भएको छ । अर्काको अस्तित्व, सम्मान गर्नै नपर्ने । आफ्नो हैसियत र, औकात थाहा नभएकाहरू पनि नेता बन्न थालेको विडम्वना देखिन्छ समाजमा । यो समस्या मोरङमा मात्र होइन सुनसरी, झापामा पनि छ । देशभरकै समस्या होला भन्ने लाग्छ ।गिरिजाप्रसाद कोइरालाले आफुलाई कहिल्यै नेता ठानेनन् । मनमोहन अधिकारी, मदन भण्डारीले आफुलाई नेता भनेनन् । उनीहरूले पार्टीको एक असल कार्यकर्ता भनेर आफ्नो परिचय दिएका थिए ।
कुनै पनि घरमा सबै बाठो हुने हो भने त्यो घर घर नै रहँदैन । त्यहाँ अनुशासन पटक्कै हुन्न । हो, उम्मेदवार हुने अधिकार सबैको हुन्छ । आफ्नो प्रचार गर्ने अधिकार पनि हुन्छ । तर, भाषा शिष्ट र भद्र हुनुपर्छ । जसले अरुलाई सम्मान गर्न सक्दैन, उसले अरुबाट सम्मान पाउन सक्दैन । अन्तर पार्टी निर्वाचनमा कसैलाई हराउने होइन, जित्ने कांग्रेसले हो र, हार्ने पनि कांग्रेस नै हुन्छ । कसैलाई खुइल्याउने, अपममान गर्ने, हेपाइती गरेर नेता हुने होइन ।कांग्रेस मात्र होइन यो रोग एमाले, जसपा, माओवादी केन्द्र सबैमा छ ।
नेता भनेको नेतृत्व गर्ने व्यक्ति हो । नेता भनेको सबैलाई मिलाएर हिड्ने, समुल तरिकाले सोच्ने र संगठनलाई बलियो बनाउन कसैलाई काखा, कसैलाई पाखा नगर्ने राजनीतिक व्यक्ति हो । कसैलाई अपमान गरेर, तिरस्कार गरेर निदृष्ट लक्ष्य प्राप्त हुन्न ।
एक विद्धानले भनेको कुरा कुनै पुस्तकमा पढेको थिए–जुन देशमा नेता धेरै हुन्छन् त्यो देशले कहिल्यै उपलब्धी हासिल गर्न सक्दैन । हो, यो कुरा एकदमै सही हो । हामीलाई नेता होइन नेतृत्व गर्ने थोरै व्यक्ति चाहिएको छ । नेतृत्व गर्ने धेरै भए पनि माखो पनि मर्दैन । संसारका धेरै देशमा नेतृत्व कमै व्यक्तिले गरेका छन् र, त्यहाँ सफलता पनि मिलेको छ ।
हामीकहाँ अध्ययन छैन, चोकगल्लीमा बसेर नेता हुने संस्कार विकास भएको छ । नेता किन हुने ? यसबारे हामीले अध्ययन पनि गरेका छैनौ । नेता समाजका लागि हुने, व्यक्तिका लागि हुने हो अनि देशका लागि । यो नेता भनेको जागीर होइन । नेता भनेको मजाकको शब्द पनि होइन । तर, हामी आफैले नेता शब्दलाई बुझ्न सकेका छैनौ । हामीले नेतालाई मजाकको माध्यम बनाउन थालेका छौं ।
पूर्वाग्रह नहुने नेताको एक प्रमुख लक्षण हो । समान ढंगले सबैलाई हेर्ने र गुट चलाउने, पैसाको भरमा सबैलाई किन्न सक्छु भन्ने अहंमता जब व्यक्तिमा देखा पर्छ, फलानालाई देखाएर छाड्छु भन्ने घमण्ड जब पलाउँछ तब नेतामा भएका सबै गुण समाप्त हुन्छन् ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।