मोरङ व्यापार संघले नेपाल विद्युत प्राधिकरणको प्रदेश नं. १ का प्रादेशिक कार्यालय र विराटनगर वितरण केन्द्रका प्रमुखहरूसँग कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक करिडोरका विद्युतसम्बन्धी समस्याबारे छलफल गरेको छ ।
संघका अध्यक्ष प्रकाश म्रन्दडाले संघमा आएका प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी, विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिवार र प्रदेश कार्यालयका आनन्द नेपाललाई स्वागत गर्दै उद्योगीहरूले हाल भोगिरहेका समस्याबारे अवगत गराए ।
अध्यक्ष मून्दडाले प्राधिकरणका प्रमुखहरूसमक्ष मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभिए लाईन जडान रहेतापनि हाल विद्युत आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत आपूर्तिका कारण उद्योग संचालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौति गर्न बाध्य भएको बताए ।
विद्युत ट्रिपिङ्ग एवं भोल्टेजको अस्थिरताबाट उद्योगहरुका विद्युतीय उपकरणहरुमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने तथा पुनः प्रक्रियामा ल्याउनुपर्ने आदि समस्याबाट उद्योगलाई ठूलो व्यय भार थपिने गरेको बताए ।
वर्षायाममा समेत विद्युत आपूर्तिमा कमी हुने गरेको, मर्मत संभारका कार्य सुस्त गतिमा हुने गरेको, प्राधिकारणबाट पूर्वसूचना विनै पटकपटक विद्युत कटौति हुने गरेको आदि बताउदै अध्यक्ष मुन्दडाले विद्युत आपूर्तिमा हुने गरेका त्यस्ता समस्याहरुका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह«ास आई अर्बौँको निर्यात प्रभावित भएको र राजस्व समेत गुमिरहेको बताए ।
अध्यक्ष मून्दडाले विद्युत महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण समेत उद्योगको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेको बताउँदै प्राधिकरणले विद्यमान समस्याको सिघ्र समाधानका लागि ठोस कदम चाल्नुपर्ने र औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण हुने गरी गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए ।
अध्यक्ष मून्दडाले अवगत गराएका समस्या र सुझावहरुप्रति नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले तिनको समाधानका लागि आफ्नो स्तरबाट शिघ्रताका साथ आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए ।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष मून्दडाले संघले थालनी गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको प्रवद्र्धन स्वरुप वितरण गर्दै आएको सो अभियानको पेपर स्टेन्ड प्राधिकरणका प्रमुखहरूलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका अध्यक्षसहित निर्वतमान अध्यक्ष पवन सारडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, महासचिव अनिलकुमार साह, कार्यसमितिका सदस्य र उद्योगीको उपस्थिति थियो ।