सम्पादकीय
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा ४५ वटा विभागहरू रहेका छन् । आधा दर्जन विभागहरूमा शिक्षक छन् तर विद्यार्थी भर्ना भएका छैनन् । कतिपय विभागमा विद्यार्थी छन् तर शिक्षक छैनन् । इतिहास, अर्थशास्त्र, हिन्दी, संस्कृत, गृहविज्ञान, तर्कशास्त्र जस्ता विषयहरूमा विद्यार्थी भर्ना हुन छाडेको कयौं वर्ष भइसक्यो ।
तर यी विषय पढाउने शिक्षकहरू तलव बुझेर बिनाकाम बसेको अवस्था छ । हिन्दी विभागअन्तर्गत दुई जना शिक्षकले कयौं वर्षदेखि मासिक एक लाखभन्दा बढी तलब बुझ्ने गरेका छन् ।
यहाँ स्नातक तहदेखिमात्र पठनपाठन हुने गरेको छ । स्नातक तहसम्मको पठनपाठन हुन थालेको धेरै भएको छैन । त्यस्तै दुई दशक नाघ्यो होला । त्यसअघि कक्षा–११ र १२ पनि पढाइ हुने गरेको थियो । जतिखेर क्याम्पसमा भर्ना हुन गाह्रो हुन्थ्यो । दश हजारभन्दा बढी विद्यार्थीहरू भर्ना हुने गरेका थिए ।
जब कक्षा–११ र १२ हटाउने काम भयो तब विद्यार्थी संख्या ८० प्रतिशत्ले घट्यो । ऊ बेला यो क्याम्पसमा पढ्न निकै रमाइलो महसूस हुने गरेको थियो । किनकि धेरै साथीहरूसँग भेटघाट र घुलमिल हुन पाइने गर्दथ्यो । तर्क वितर्क, छलफल जस्ता वौद्धिक कार्यहरू पनि खुबै हुने गरेका थिए । तर आजकाल त्यस्तो केही पनि हुँदैन ।
अहिले यो क्याम्पसको अवस्था विद्यार्थी कम भएर सुनसान जस्तै देखिन्छ । त्यहाँ कार्यरत अधिकांश शिक्षकहरू नपढाइकन तलब पकाइ रहेका छन् । यसरी अनउत्पादक क्षेत्रमा सरकारले लगानी गरेर अनावश्यक खर्च गरिरहेको छ । यसको सट्टा शिक्षक अपुग भएका दुर्गम पहाडी क्षेत्रमा शिक्षकहरूको सरूवा गरेर जनशक्तिको सही सदुपयोग गर्न सके उपयुक्त हुने थियो । नत्र त त्रिविमा लगानी गरेको कुनै अर्थ हुँदैन ।
यसरी नै श्रम नगरिकन तबल पाइने प्रणालीको विकास हुँदै जाने हो भने हाम्रो शिक्षाको अवस्था कस्तो हुन्छ होला । अनुमान पनि गर्न मुस्किल पर्दछ ।
तसर्थ यहाँको क्याम्पस प्रशासनले पनि समयमै क्याम्पसमा भएका सम्पूर्ण गतिविधिको प्रतिवेदन त्रिविलाई उपलब्ध गराउनु पर्दछ । त्रिविले बेलाबेलामा क्यापसहरूको अनुगमन गर्ने व्यवस्था गर्नु पर्दछ । सरकारले पनि तत्काल विकृति विसंगति हटाउनतर्फ उन्मुख हुनु पर्दछ । सरकारी क्याम्पसको पढाइको गुणस्तर कमजोर भएका कारण निजी क्याम्पसले बढी फाइदा लिइरहेका छन् । जसका लागि दक्ष जनशक्तिको छनौट गर्न सकेमा मात्र त्रिविको शैक्षिक अवस्था सुदृढ हुन सक्छ ।
मोरङ क्याम्पसमा देखिएको समस्या शिक्षक र क्याम्पस प्रशासनको कारणले पनि हो । यसलाई सुधार गर्न केही शिक्षकहरू जसको त्यहाँ आवश्यकता नै छैन लाई अन्यत्र सरूवा गर्न सक्नु पर्दछ । मेरो, तेरो वा आफन्त भनेर बिनाकामका शिक्षकलाई सरूवा गर्न नसक्नु भनेको शैक्षिक विकृति हो । विद्यार्थी कसरी बढाउन सकिन्छ भनेर क्याम्पस प्रशासनले योजनावद्ध ढंगले लाग्नु पर्दछ । हचुवाको भरमा बिना योजना काम गर्दा कहिलै पनि सफल हुने सम्भावना हुँदैन ।