मंगलबार, साउन १९, २०७८ || 476  पटक पढिएको
फ़ाईल तस्बिर

विराटनगरका वासिन्दालाई अहिले दुई कुरामा मज्जा आइरहेको छ । टिभी स्क्रिनमा चिसो र सितन लिँदै टोकियो ओलम्पिक २०२० का हाइलाइट्स हेर्न र सामाजिक संजालमा विराटनगरको ५ को खोप काण्डमा लाइक, कमेन्ट र शेयर गर्न ।

विराटनगरवासी सामाजिक संजालमा निकै सक्रिय बनेका छन् । के वृद्ध, के बालक, के तन्नेरी सबै सामाजिक संजालका गर्विला उपयोगकर्ता बनेका छन् । सामाजिक संजालको वालमा पोष्ट हुने सबै कुरा सत्य नै हुन्छन् भन्ने छैन तर सत्य र असत्य जेभए पनि लाइक, कमेन्ट र शेयरको मज्जा लिन औंला सल्बलाउनेहरूको संख्या बाक्लै छ ।

मैले भनिरहनु पर्दैन । खोपको कुरामा म पछि आउँछु, पहिला ओलम्पिककै कुरा गरौं एकैछिन् । यसअघिको स्तम्भमा मैले मनैदेखि हारेर टोेकियो पुगेकी सरस्वती चौधरीको बारेमा लेखेको थिएँ । चौधरीले टोकियोमा आफूले बोलेको कुरा पनि राख्न सकिनन् । बोलेको कुरा पुरानै गर्न सकिँदैन भने नेपालका नेताहरू जस्तो जे पायो त्यहि नबोल्नु नि !
कुद्नका लागि भाग्यले जुराएर टोकियो पुगेकी चौधरीले राष्ट्रिय कीर्तिमान सुधार्ने भनेर फुँई हाँकेकी थिइन् । तर टोकियोमा त्यो गर्न सकिनन् । साउन १५ मा भएको १०० मिटरको दौड चौधरीले १२.९९ मिनेटमा पुरा गरिन् । फाइनलमा होइन है पाठक हो, नझुक्किनु होला । चौधरीको यो समय पहिलो चरणको हो । पहिलो चरणमा ९ जनाले भाग लिएका थिए ।

राष्ट्रिय कीर्तिमान सुधार्न टोकियो पुगेकी चौधरी ८ औं स्थानमा आइन् । उनले आफ्नै रेकर्ड पनि तोड्न सकिनन् । सायद ओलम्पिक भिलेजको मिठो जापानी भात मज्जैले खाएर चौधरीले कुद्न नसकेको हुनुपर्छ । चौधरीको कीर्तिमानी समय १२.५५ मिनेटको थियो । तर स्वदेशी माटोमा बनाएको रेकर्डसमेत विदेशी भूमीमा चौधरीले तोड्न सफल भइनन् ।

साफमा ख्याती कमाएकी गौरिका सिंहले स्वीमिङ्गमा निरास पारिन् । उनलाई सेलेब्रेटी बनाइएको थियो । त्यहि सेलेब्रेटीको बोझमा उनी दब्बिइन् । सेलेब्रेटीले फोटो सेशन गराउन सक्छ, खेल्न सक्दैन, कदापि सक्दैन, यो हेक्का हुनुपर्छ । मन हारेका खेलाडीबाट पदकको आसा गर्नु तपाईहरूका लागि के हुन्छ थाह भएन, मेरा लागि भने बेइमानी हुन्छ ।
एमाले नेता बामदेव गौतमकी श्रीमती एवं सांसद कुमारी तुलसी थापा पनि जापान पुगिन् । फ्रिको मासुभात अनि भत्ताको मदमस्तमा थापा रमाएकी छिन् । देश निर्माणको ठुलाठुला कुरा गर्ने बामदेवले आफ्नी श्रीमति तुलसा थापालाई जवरजस्ती जुडो खेलको व्यवस्थापक बनाएर किन राज्जकोष खर्चदैं किन जापान उडाए ? छ यसको जवाफ ?

तुलसा थापा जापान जानु भनेकै खेलकूदमा दुषित राजनीतिक फोहर खेलको परिमाण हो । बामदेव र उनकी श्रीमती साँच्चिकैको नेता भएको भए त खेलकूदको क्षेत्रमा सर्वस्व त्याग गरेका मानिसको लागि ठाउँ छाडिदिन्थ्ये । तर मासुभात र भत्ता कसले पो छाड्ने ? थापाले खेलकुदको विकासका लागि के के न तीर मारेर आएजस्तो गरेर जापानको परेडमा बेस्सरी हात हल्लाउँदै निलज्र्जताको पराकाष्ठा नाघेको टिभीमा हेर्न सकिरहेको थिइन, झन्न विजुली गयो । बिजुलीको महत्व रातमा नै हुन्छ ।

रातमा नै धेरै घटना उपघटना हुने गरेका छन् । रातमै विराटनगर–५ मा भएको एक घटनाले कोहराम मच्चाएको छ भने सामाजिक संजालका पारखीलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । वडा नं. ५ का बुथ सभापति विमल राजभण्डारीको घरमा निकटस्थ कांग्रेस कार्यकर्तालाई मेयर भीम पराजुलीले खोप लगाइरहेको र पछि होहल्ला भएपछि त्यहाँबाट भागेको एकाथरी कांग्रेसीको आरोप छ ।

मेयर पराजुली राजभण्डारीको घरैमा थिएनन् र खोपको हल्ला षडयन्त्र हो भन्ने अर्का थरी कांग्रेसीको भनाई छ । दुवै थरीका कांग्रेसी एक अर्कालाई गलत साबित गर्न १०० मिटर दौड चौधरीले दौडिए जसरी नै घम्साघम्सी गरिरहेका छन् । कांग्रेसका विरूद्ध कांग्रेस नै लागेको छ । यस्तो क्रियाकलापले कांग्रेसलाई नै कमजोर बनाउने हो ।
कांग्रेस नै कमजोर बनेपछि कांग्रेसको झण्डा बोकेर कसरी विराटनगरमा चुनाव जित्ने ? राजभण्डारीको घरमा मेयर पराजुली नै हर्ताकर्ता हो भन्ने कुराको सबुत प्रमाण देखाउन सक्नुपर्छ । सबुतबीनाको हल्लामात्र गरेर समस्याको समाधान हुनेवाला छैन । अनि पराजुलीले गल्ती नै गरेको हो भने उनले पनि सहजै स्वीकार गर्न सक्नु पर्छ । यो नै प्रजातान्त्रिक चरित्र हो ।

कांग्रेस पार्टीका अगुवाहरूले खोप प्रकरणको छानबीन गरेर दुधको दुध र पानीको पानी छुट्याएर गल्ती गरेकालाई कारवाही गर्ने हिक्मत राख्नु पर्ने देखिन्छ । यस विषयमा म धेरै नबोलौं ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!